
सप्तरी, १४ असोज। सप्तरीमा विद्युत् मर्मतको क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका – ९ का करिब ४५ वर्षीय दिनेश सुतिहारको आज विद्युत् मर्मतको क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनी नेपाल विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा दैनिक ज्यालादारीका रूपमा कार्यरत थिए। सुतिहारलाई हनुमाननगर कंकालिनी नगरपालिका – १२ स्थित पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर कुरीले जानकारी दिए।
