
लमजुङ, १४ असोज। लमजुङको राइनास नगरपालिका–३, नौबिसे नजिक पाउँदी–बोराङखोला सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
दुर्घटनामा राइनास ३, टिमुरे निवासी २३ वर्षीय समिर ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । ठकुरीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धमिलीकुवास्थित सहोदर अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार सोमबार राति टिमुरेबाट सातबिसेतर्फ जाँदै गरेको ग २४ प १६३० नम्बरको मोटरसाइकल करिब ११:५० बजेतिर अनियन्त्रित भई सडकको दायाँपट्टी नालीमा खस्दा चालक ठकुरी गम्भीर घाइते भएका थिए ।
उक्त मोटरसाइकलमा सवार टिमुरेकै २६ वर्षीय देवराज ठकुरी घाइते भएका छन् । उनलाई सहोदर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मृतकको मुचुल्का उठाई शव परीक्षणका लागि बेसीसहरस्थित प्रदेश अस्पतालमा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साह तेलीले जानकारी दिएका छन् ।
