
सर्लाही, १५ असोज। सर्लाहीको हरिपूर्वा नगरपालिका–१ स्थित हर्दी नदीमा माटो खन्ने क्रममा ढिस्को खसेर तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान करिब ९ बजे हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरू गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले बिहान १०:४५ बजे मृत घोषित गरेका हुन्।
मृत्यु हुनेमा महोत्तरी सोनमा गाउँपालिका–६, मगरथाना निवासी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन (उदय मंसुरकी छोरी), ८ वर्षीय डिल्लु मंसुर (अल्लाउदिन मंसुरका छोरा) र ९ वर्षीया नर्गिस खातुन (नसरुल शेखकी छोरी) रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह–प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार घटनास्थलमा तत्कालै प्रहरी टोली खटाई आवश्यक अनुसन्धान अघि बढाइएको छ। घटनामा ज्यान गुमाउने चारै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए।
सर्लाही र महोत्तरीको सिमानामा पर्ने हर्दी नदी किनारमा माटो खन्ने क्रममा घटेको यो घटना अत्यन्तै दुःखद भएको बताइएको छ।
