
वीरगञ्ज, १६ असोज। पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ नयाँ बस्तीमा भुस्याहा कुकुरको टोकाइबाट गम्भीर बिरामी भएका २२ वर्षीय स्थानीय युवक इन्द्र ब्लोनको मृत्यु भएको छ ।
ब्लोनलाई कुकुरले टोकेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। उनलाई उपचारका लागि काठमाडौँको टेकु अस्पताल लगिएको थियो । यद्यपि, उपचार सम्भव नभएपछि बुधवार घर फर्काउने क्रममा बाटोमै उनको निधन भएको मृतकका भाइ विनोद ब्लोनले बताए ।
विनोदका अनुसार गाउँमा भुस्याहा कुकुरहरूको अनियन्त्रित बिगबिगीले यस्तो दुखद घटना निम्त्याएको हो । स्थानीय बासिन्दाहरूले गाउँमा भुस्याहा कुकुरहरूको सङ्ख्या अनियन्त्रित रूपमा बढ्दै गएको र यसले गम्भीर समस्या निम्त्याएको गुनासो गरेका छन् । उनीहरूले सम्बन्धित निकायसँग समस्याको समाधानका लागि तत्काल पहल गर्न माग गरेका छन् ।
घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ भने भुस्याहा कुकुरहरूको व्यवस्थापनमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
