
धादिङ, २० असोज। धादिङमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । आइतबार राति त्रिपुरा सुन्दरी गाउँपालिका–५ थापा कटेरीका ३० वर्षीय यमबहादुर कँडेलले करिब ५५ वर्षीय आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
खुँडा प्रहार गरी हत्या गरेको थाहा पाएपछि आएका छिमेकीहरुलाई पनि उनले खुँडा देखाउँदै तर्साएका थिए ।
पछि स्थानीयले खबर गरेपछि आएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख भेषराज रिजालका अनुसार उनले खुँडा प्रहार गरी आमा राममायाको टाउको छिनाएका थिए ।
छिमेकीलाई खुँडा देखाएर तर्साएर घरमै बसेका यमबाहदुरलाई स्थानीय चौकी, सल्यानटार प्रहरी चौकी र जिल्लाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ भने घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
