अविरल वर्षाका कारण रौतहटका विभिन्न सडकमा यातायात अवरुद्ध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २०, सोमबार (४ महिना अघि)
  • २ पटक पढिएको
अविरल वर्षाका कारण रौतहटका विभिन्न सडकमा यातायात अवरुद्ध

रौतहट, २० असोज। अविरल वर्षाका कारण रौतहट जिल्लामा जनजीवन कष्टकर बनेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार लगातारको वर्षाका कारण जयनगर–मौलापुर–सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने सडक एक स्थानमा बगाएको छ ।

सोनारनिया गाउँदेखि पश्चिमतर्फ कालोपत्रे सडकमा आइतबार साँझ करिब ७–८ फिट सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।

उक्त सडकखण्डमा अहिले साइकिल र मोटरसाइकल मुस्किलले आवतजावत गरिरहेका छन् भने चारचक्के सवारी साधनले वैकल्पिक मार्गका रूपमा सोनारनिया–सागैया–पिपरिया हुँदै हुलाकी सडक प्रयोग गरिरहेका छन् ।

सदरमुकाम गौर नगरपालिकामा जमेको पानी अझै निकास नहुँदा स्थिति थप गम्भीर भएको छ । बजारका हरेक गल्ली र सडकमा पानी जमेको छ भने अधिकांश पसल, घर र कार्यालयमा समेत पानी पसेको छ ।

सबगढा लचकामा पानीको तीव्र बहावका कारण यातायात आवागमन रोकिएको छ । गौरको मुख्य सडकमा करिब डेढ फिट र भन्सार क्षेत्र वरपर दुई–तीन फिटसम्म पानी जमेको छ । जिल्ला अदालत, मालपोत कार्यालयसहित प्रायः सबै सरकारी कार्यालयको प्राङ्गण जलमग्न भएको छ ।

पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ र २ स्थित लचकामा पानीको बहाव कम भएपछि गाडी आवतजावत सामान्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताए ।

बागमती नदीको पानीको सतह हाल सामान्य भए पनि समनपुर–धरमपुर सडक खण्डमा पानीका कारण यातायातमा कठिनाइ भएको छ । जिल्लाको पश्चिमी भेगमा रहेको लालबकैया नदी र पूर्वी क्षेत्रमा रहेको चाँदी खोला र झाँझ खोलाको अवस्था भने अझै सामान्य हुन सकेको छैन ।

बागमती र लालबकैया नदीका केही स्थानमा आइतबार बाँध फुट्दा सयौँ बिघा धान र उखु खेतीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना सतर्कतापूर्वक राहत तथा उद्धारमा खटिएको स्थानीय प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस