गरुडामा ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ प्रभावकारी बनाउन समन्वय बैठक सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ९, सोमबार (३ महिना अघि)
  • ३ पटक पढिएको
गरुडामा ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ प्रभावकारी बनाउन समन्वय बैठक सम्पन्न

पवन कुमार उपाध्याय

रौतहट,०८ मंसिर। जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, गरुडाले ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’लाई अझ प्रभावकारी, समुदायमैत्री र परिणाममुखी बनाउने उद्देश्यले आयोजना गरेको समन्वय तथा तयारी बैठक आज सम्पन्न भएको छ।

बैठकको अध्यक्षता प्रहरी नायव उपरीक्षक (डीएसपी) विष्णु प्रदिप बस्यालले गर्नुभएको थियो। बैठकमा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जैसवाल प्रमुख अतिथिका रूपमा तथा केन्द्रकी प्रमुख दिपिका ओझा विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

अध्यक्ष बस्यालले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका घटना अझै पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रहरी संगठन समुदायसँग सघन सहकार्यमा अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले “हिंसा पीडितहरूलाई न्याय दिलाउनेदेखि सुरक्षाको अनुभूति गराउनेसम्म प्रहरी सदैव संवेदनशील रुपमा जुट्नेछ,” भन्नुभयो।

नगरप्रमुख जैसवालले समुदायको विकास, शान्ति सुरक्षा र सभ्य समाज निर्माणको आधार ‘सम्मान र सुरक्षा’ रहेको बताउँदै १६ दिने अभियान केवल औपचारिकता नभई सामाजिक परिवर्तनको अभियान बन्नुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि दिपिका ओझाले हिंसाका कारण महिलाले भोग्नुपर्ने शारीरिक, मानसिक तथा सामाजिक असरबारे प्रकाश पार्दै जागरण, सहयोग र कानुनी पहुँच विस्तारमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

बैठकमा समाजमा प्रत्यक्ष रूपमा काम गरिरहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रेरणादायी उपस्थिति रहेको थियो।

छोरी संस्था, स्डेक नेपाल, सेतो गुराँस, संतरंगी नेपाल, जन सेवा नेपाल, महिला सुरक्षा दबाब समूह, मेची–महाकाली बुहारी समूह, गैरसरकारी संस्था महासंघ, नारी आवास केन्द्र, RDC नेपाल, TPO नेपाल, अभियान नेपाल, निस्ल–संसल, इमोल नेपाल, मण्डवी नेपाल, नारी चेतना महिला कृषक सहकारी संस्था, समरंगी नेपाल, मानव सेवा आश्रम, मुस्लिम महिला कल्याण समाज नेपाल, आशिष नेपाल, बनसीराम बाल अनाथ आश्रम लगायतका संस्थाहरूका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी थिए।

बैठकबाट १६ दिने अभियानलाई औपचारिक कार्यक्रमभन्दा पर लैजाने तथा दीर्घकालीन प्रभाव पार्ने गरी सञ्चालन गर्ने विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको थियो।

विद्यालय तथा सामुदायिक तहमा सचेतना कार्यक्रम विस्तार, किशोरी–महिला संवाद श्रृंखला सञ्चालन, पीडितको गोपनीयता र सहायता सेवा सुदृढीकरण, स्थानीय तह, प्रहरी र सामाजिक संस्थाबीच नियमित समन्वय, कानुनी ज्ञान अभिवृद्धि तथा सेवा पहुँच सरल बनाउने व्यवस्था, सामाजिक मान्यता परिवर्तनका लागि पुरुष–युवा समूहको सहभागिता वृद्धि जस्ता कार्ययोजना मुख्य रूपमा छलफलका केन्द्रबिन्दु बनेको थिए।

बैठकले सबै निकायको एकीकृत प्रयासले मात्र हिंसा रहित र सम्मानपूर्ण समाज निर्माण सम्भव हुने निष्कर्ष निकाल्दै, १६ दिने अभियानलाई समुदायमा प्रत्यक्ष प्रभाव पार्ने रूपले संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै समापन गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस