विराटनगरका क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ७, सोमबार (२ महिना अघि)
  • २ पटक पढिएको
विराटनगरका क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर, ०७ पुस। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

मध्यरातमा प्रहरीले क्यासिनोमा छापा मारेर सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापा मारेर नेपालीहरुलाई रङ्गेहात पक्राउ गरेको हो ।

क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेको थियो ।

राति ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपालीलाई रङ्गेहात नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएको छ ।

प्रहरीले पक्राउ परेकाहरू विरुद्ध सोमबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको एसपी कटुवालले जानकारी दिनुभयो । 

ताजा अपडेट

खोजी गर्नुहोस