
सिराहा, ०८ पुस। जेन–जी आन्दोलनको मौका छोपेर गत २४ भदौमा सात ठाउँको बाल सुधारगृह र विभिन्न कारागारबाट फरार भएकामध्ये सिराहा प्रहरीले दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको जनाएको छ । आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कारागार कार्यालय जलेश्वर, नक्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुरी, केन्द्रीय कारागार वसुन्धरा र बाल सुधारगृह वीरगन्जबाट फरार भएकामध्ये दुई नाबालकसहित ११ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएकामध्ये नौजनालाई सम्बन्धित कारागार र सुधारगृहमा बुझाइएको र बाँकी दुईजनालाई बुझाउने पहल भइरहेको सिराहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए । पक्राउ परेकाहरूमा लागुऔषध मुद्दाका तीन, जबर्जस्ती करणीका दुई, हाहतियार तथा खरखजाना, कर्तव्य ज्यान, मानव बेचबिखन तथा ओसारपोसार, बैंकिङ कसुरका एक–एकजना रहेको उनले बताए । उनका अनुसार आन्दोलनको मौका छोपेर भागेका ज्यान मार्ने उद्योग मुद्दाका फरार ३८ वर्षीय गोपाल साह र २१ वर्षीय रूपेशकुमार बैदालाई पक्राउ गरी महोत्तरीको जलेश्वरस्थित कारागारमा बुझाइएको छ ।
त्यस्तै, कर्तव्य ज्यान मुद्दामा १५ वर्षीय र जबर्जस्ती करणी मुद्दाका १४ वर्षीय नाबालकलाई पर्साको वीरगन्जस्थित बाल सुधारगृहमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपोसार मुद्दाअन्तर्गत जगन्नाथदेवल कारागारबाट फरार भएका २१ वर्षीय महजद बिकरुल सिद्दिकी, नक्खु कारागारमा बैंकिङ कसुर मुद्दाका ५१ वर्षीय रामसेवक यादवलाई सम्बन्धित कारागारमा बुझाइएको छ । आन्दोलनमा भागेका यादव भने सरकारले फरार कैदी बन्दीहरूलाई प्रहरीमा हाजिर हुन वा कारागारमा फर्किन आग्रह गरेपछि स्वयं प्रहरीमा हाजिर हुन आएको बताइएको छ ।
त्यस्तै, नक्खु कारागारबाट फरार भएका लागुऔषध मुद्दाका ३७ वर्षीय जितेन्द्र साह र ३० वर्षीय सियाराम यादव तथा सप्तरी कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका २५ वर्षीय दीपककुमार ठाकुरलाई पक्राउ गरी कारागारमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लोपटक ६ र ७ पुसमा पक्राउ गरिएका लागुऔषध मुद्दाका ३२ वर्षीय विश्वमित्र महतो र महादेव मण्डललाई क्रमशः केन्द्रीय कारागार वसुन्धरा र सिन्धुली कारागारमा पठाउने तयारी भइरहेको छ ।
