कांग्रेसमा क्रियाशील सदस्यता छानबिन र संसदीय बोर्ड गठनको तयारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ८, मंगलबार (२ महिना अघि)
  • २ पटक पढिएको
कांग्रेसमा क्रियाशील सदस्यता छानबिन र संसदीय बोर्ड गठनको तयारी

काठमाडौं, ०८ पुस। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले तय गरेको महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि परिमार्जनको गृहकार्य थालेको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका परिमार्जनका लागि बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

गत मंसिर १५ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गर्दै कार्यतालिका पारित गरेको थियो । त्यो कार्यतालिकामा पार्टीको नयाँ क्रियाशील सदस्यताको फारम र सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पारित गरेर जिल्ला कार्यसमितिलाई पुस ८ गतेभित्र बुझाउने उल्लेख थियो । ‘नयाँ क्रियाशील सदस्यता प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक बसी निर्णय, फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउने- पुस ८ गते भित्र,’ बैठकको निर्णयमा लेखिएको थियो ।

तर, महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अहिलेसम्म सबै स्थानमा क्रियाशील सदस्यताको फारमसमेत पुर्‍याउन सकेको छैन । समितिको सोमबार बसेको बैठकले फारम पुर्‍याउने समय पुस १० गतेसम्मलाई निर्धारण गरेको छ ।

समितिकी सदस्य सिता गुरुङले १० गतेसम्म क्रियाशील सदस्यताका नयाँ फारम सम्बन्धित स्थानमा पुर्‍याइसक्ने सहमति समितिमा बनेको जानकारी रातोपाटीलाई दिइन् । यसले कार्यतालिका प्रभावित बनेपछि परिमार्जनका लागि कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।

क्रियाशील सदस्यताको समयसँगै बैठकले पार्टीका तल्ला अधिवेशनको समय पनि परिमार्जन गर्ने तयारी गरिरहेको ती पदाधिकारीले बताए ।

त्यस्तै कार्यसम्पादन समितिले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभामा पार्टीका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउने निर्णय पनि गर्नेछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट समानुपातिकतर्फको सूची ढिलोमा पुस १४ गतेभित्र बुझाइसक्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यो समय आउन अब ६ दिन मात्रै बाँकी छ ।

माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि पनि उम्मेदवार छान्नुपर्नेछ । आयोगले पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।

कांग्रेस विधानमा सभापतिको अध्यक्षतामा पदाधिकारीसहितको संसदीय बोर्ड बनाउने व्यवस्था छ । त्यो निर्णय पनि अहिले कार्यसम्पादन समितिबाट गरेर पछि केन्द्रीय समितिले अनुमोदन गर्ने तयारी कांग्रेसको छ । त्यस्तै बैठकले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती संयोजक रहेको पार्टीको केन्द्रीय निर्वाचन समितिलाई मान्यता दिने निर्णय पनि गर्नेछ ।महाधिवेशनमा पेस गर्ने विधान संशोधन समिति पनि कार्यसम्पादन समिति बैठकबाट गर्ने तयारी छ । 

ताजा अपडेट

खोजी गर्नुहोस