शीतल निवासमा राष्ट्रपतिको पहल: चार शीर्ष नेताबीच संवाद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ८, मंगलबार (२ महिना अघि)
  • १  पटक पढिएको
शीतल निवासमा राष्ट्रपतिको पहल: चार शीर्ष नेताबीच संवाद

काठमाडौँ, ०८ पुस। प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । जेन-जी आन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग प्रत्यक्ष कुराकानी गरेकी हुन् । 

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा कुराकानी भएको हो । राष्ट्रपति पौडेलले नै छलफल डाकेका हुन् । छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन दलका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल सहभागी छन् ।

शीतल निवास स्रोतका अनुसार उक्त छलफल निर्वाचनको वातावरण बनाउने दिशामा नै केन्द्रित हुने भएको छ । राष्ट्रपति पौडेलले यसअघि अन्तरिम सरकार बन्ने र बनाउने क्रममा प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए ।

तर देउवा र ओलीसँग भने भेटवार्ता भएको थिएन । तत्कालीन सरकारका प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेर सरकारले निर्वाचनको वातावरण बनाउन नसकिरहेको भन्दै कांग्रेस र एमालेबाट सरकारको आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष ओलीले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन् ।

प्रतिनिधिसभा पुन:स्थापनाका लागि कांग्रेस र एमालेले छुट्टाछुट्टै रिट समेत दायर गरेका छन् । दुई दलबाट बहुमत सांसदहरूको हस्ताक्षरसहित मंगलबार नै पूरक निवेदन दिने तयारी कांग्रेसले गरिरहेको पृष्ठभूमिमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले शीतल निवासमा देउवा, ओली र दाहालसँग निर्वाचनको वातवरण बनाउने विषयमा छलफल गर्न लागेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस