बुहारी हत्या काण्ड प्रकरणमा ससुरा र दाइ पुर्पक्षका लागि कारागार चलान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ९, बुधबार (२ महिना अघि)
  • २ पटक पढिएको
बुहारी हत्या काण्ड प्रकरणमा ससुरा र दाइ पुर्पक्षका लागि कारागार चलान

रौतहट, ०९ पुस। रौतहटको बृन्दावन नगरपालिका–९ भुसाहा टोलमा १८ वर्षीया तरिमा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना प्रतिवादीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८२ मंसिर ९ गते बिहान करिब ८ः०५ बजे गुजरा नगरपालिका–७ बस्ने तरिमाका बाबुले छोरी विगतदेखि नै ससुराली पक्षबाट शारीरिक तथा मानसिक यातना भोग्दै आएको र मंसिर ८ गते रातिदेखि बेपत्ता भएको जानकारी प्रहरीलाई दिएका थिए।

सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको संयुक्त प्रहरी टोलीले तरिमाको ससुराली घरमा खोजतलास गर्दा परिवारका सदस्यहरू घरमा नदेखिएपछि शंका उत्पन्न भएको थियो। घरभित्र एक कोठामा रगतका दाग तथा भुइँमा गाडिएको टाटो लिपोट गरिएको देखिएपछि प्रहरीले घर वरिपरि व्यापक खोजबिन गरेको थियो। सो क्रममा घर कम्पाउण्डको एक कुनामा भुसको थुप्रो पछाडि जमिन भासिएको देखिएपछि उत्खनन गर्दा करिब पाँच फिट जमिन मुनि बोरा पोको पारी राखिएको अवस्थामा तरिमा खातुनको शव फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनासम्बन्धमा गुजरा नगरपालिका–७ पटुवास्थित शेख टोल बस्ने शेख ताज महमदको जाहेरीका आधारमा नेपाल सरकार वादी र बृन्दावन नगरपालिका–९ भुसाहा टोल बस्ने शेख महमद अलीसहितका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो।

अनुसन्धानका क्रममा मृतकका ससुरा ७५ वर्षीय शेख महमद अली र सहोदर दाइ शेख आश महमदलाई मंसिर १० गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको हिजो ८ गतेको आदेशअनुसार दुवै प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस