इन्टरनेसनल डलर कार्ड भन्दै ठगी : एक कन्सल्टेन्सी सञ्चालक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ९, बुधबार (२ महिना अघि)
  • २ पटक पढिएको
इन्टरनेसनल डलर कार्ड भन्दै ठगी : एक कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं, ०९ पुस। विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई इन्टरनेसनल डलर कार्डको लोभ देखाएर लाखौं रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिका, क्यानडा, अष्ट्रेलिया र बेलायत (युके) जस्ता देशमा सजिलै पठाइदिने र भुक्तानी प्रक्रिया छिटो हुने भन्दै भ्रम छरेर विद्यार्थीबाट २६ लाखभन्दा बढी रकम कुम्ल्याउने सञ्चालक प्रहरी फन्दामा परेका हुन्।

पक्राउ पर्नेमा काठमाडौंको लैनचौरमा रहेको ‘युरो एसिया एजुकेसन कन्सल्ट प्रालि’ का सञ्चालक ३५ वर्षीय सूर्यबहादुर डाँगी छन्।

उदयपुरको त्रियुगा नगरपालिका–६ घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने डाँगीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लैनचौरबाटै पक्राउ गरेको हो।

प्रहरीका अनुसार डाँगीले विद्यार्थीहरूलाई विश्वासमा लिन प्रविधिको बहाना बनाउने गरेका थिए। उनले कलेजको शुल्क र इन्सुरेन्स पोलिसी बापतको रकम ‘इन्टरनेसनल डलर कार्ड’ मार्फत भुक्तानी गर्दा काम छिटो र सहज हुन्छ भन्दै विद्यार्थीलाई फसाउने गरेका थिए।

यही बहानामा उनले विद्यार्थीहरूलाई आफ्नो कम्पनीको बैंक खातामा रकम जम्मा गर्न लगाउने र काम नगरी अलपत्र पार्ने गरेको पाइएको छ। उनीमाथि विभिन्न विद्यार्थीबाट गरी कुल २६ लाख ८ हजार ५ सय ६५ रुपैयाँ ठगी गरेको आरोप छ।

पीडित विद्यार्थीहरूको उजुरीको आधारमा टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका डाँगीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस