बंगलादेश हत्या काण्डको विरोधमा रौतहटको सदरमुकाम गौरमा प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ९, बुधबार (२ महिना अघि)
  • ४ पटक पढिएको
बंगलादेश हत्या काण्डको विरोधमा रौतहटको सदरमुकाम गौरमा प्रदर्शन

रौतहट, ०९ पुस। बंगलादेशमा एक निर्दोष हिन्दु युवकको निर्मम हत्याको घटनाको विरोधमा रौतहटको सदरमुकाम गौरमा आज एकाबिहानै विरोध प्रदर्शन गरिएको छ। हात हातमा तुल ब्यानर र झण्डा बोकेर दर्जनौं मोटरसाईकल, अटो रिक्सामा आएका हिन्दू समर्थक युवाहरुले प्रदर्शन गरेका थिए। हिन्दुवादी नेता राजभूषण श्रीवास्तव तथा स्थानीय समाजसेवी मनोज यादवको अगुवाइमा उक्त प्रदर्शन सम्पन्न भएको हो।

प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मानवअधिकारको रक्षा गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। “धर्मको आधारमा हुने कुनै पनि प्रकारको हिंसा मानव सभ्यतामाथिको प्रहार हो,” भन्दै उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

उक्त विरोध कार्यक्रममा गौरका ई–रिक्सा तथा टेम्पु व्यवसायीहरूले पनि ऐक्यबद्धता जनाउँदै सहभागिता जनाएका थिए। यसले प्रदर्शनलाई थप सशक्त बनाएको स्थानीयवासीहरूको भनाइ छ।

बंगलादेशमा अल्पसंख्यक समुदायमाथि हुने हिंसाका घटनाहरूले छिमेकी मुलुक नेपालमा समेत चिन्ता बढाउँदै गएको देखिन्छ। विशेषगरी धार्मिक सहिष्णुता र मानवअधिकारका विषयमा आवाज उठाउँदै आएको नेपालका विभिन्न समुदायहरू यस्ता घटनाप्रति संवेदनशील बन्दै गएका छन्।

गौरमा भएको यो प्रदर्शन केवल एक घटनाविरुद्धको आक्रोश मात्र नभई, धार्मिक स्वतन्त्रता, मानवअधिकार र क्षेत्रीय शान्तिप्रति जनचासोको अभिव्यक्ति हो।

स्थानीय स्तरबाट सुरु भएका यस्ता शान्तिपूर्ण प्रदर्शनहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि दबाब सिर्जना गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस