
रौतहट, ११ पुस। रातिको समयमा हुस्सु तथा कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रौतहटका विभिन्न सडक खण्डमा रिफ्लेक्ट स्टिकर टाँसिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट तयार भई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट स्वीकृत ‘सडक दुर्घटना विरुद्ध युवा–२०८२’ कार्ययोजना अनुसार उक्त अभियान सञ्चालन गरिएको हो।
जिल्ला रौतहटअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धनसर पुलदेखि बाग्मती पुलसम्म तथा चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुर एरियासम्म सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट प्राप्त विभिन्न रङका करिब ३५० फिट बराबरका रिफ्लेक्ट स्टिकर पुल, कल्भर्ट र साइनबोर्डजस्ता स्थानमा टाँसिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताएका छन्।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त सहकार्यमा उक्त कार्य सम्पन्न गरिएको हो।
इन्स्पेक्टर मगरका अनुसार रातिको समयमा उज्यालो दृश्यता कम हुने स्थानमा रिफ्लेक्ट स्टिकर टाँसिँदा सवारी चालकलाई मार्ग देख्न सहज हुने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ।
पछिल्लो केही दिन यता रौतहट लगायत सिंगो मधेश प्रदेशमा बिहानै देखी हुसुलागेर चिसो बढ्नुका साथै सवारी साधन आवागमनमा कठिनाइ भएको छ।
