वीरगञ्जमा सासू–ससुरा र नन्द विरुद्ध बुहारीमाथि हिंसाको आरोप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ११, शुक्रबार (२ महिना अघि)
  • २ पटक पढिएको
वीरगञ्जमा सासू–ससुरा र नन्द विरुद्ध बुहारीमाथि हिंसाको आरोप

वीरगञ्ज, ११ पुस। वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ स्थित गहवा टोलमा ज्यान मार्ने प्रयाससहितको गम्भीर घरेलु हिंसाको घटना सार्वजनिक भएको छ । सोही टोलकी मधु कुमारी गुप्तामाथि आफ्नै सासू–ससुरा तथा नन्दहरूबाट कुटपिट र अमानवीय व्यवहार गरिएको आरोप लागेको हो ।

पीडित मधु कुमारी गुप्ताका अनुसार करिब चार वर्षअघि जातीय परम्पराअनुसार नरेश कुमार गुप्तासँग विवाह भएको थियो । विवाहपछि पति रोजगारीका सिलसिलामा बुटवल गएपछि उनी ससुराली घरमै बस्दै आएकी थिइन् । पति घरबाहिर रहँदा सासू मिना देवी, ससुरा नागेन्द्र साह कानु तथा नन्दहरू सुनैना देवी र गीता देवीबाट लामो समयदेखि शारीरिक, मानसिक र आर्थिक हिंसा सहँदै आएको पीडितको गुनासो छ ।

पीडितका अनुसार उनलाई घरमा बस्न नदिने, खान–लाउनबाट वञ्चित गर्ने, गालीगलौज गर्ने, पटक–पटक कुटपिट गर्ने र घरबाट निकाल्ने जस्ता अमानवीय व्यवहार गरिएको थियो । बुहारी मधुमाथि भइरहेको दुर्व्यवहार र कुटपिटको विषयमा स्थानीय भद्र भलाद्मी र आफन्तको रोहबरमा पटक–पटक सम्झाइ–बुझाइ र छलफल भए पनि ससुराली पक्षको व्यवहारमा कुनै सुधार नआएको उनले बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालयको पहलमा मिति २०८२ मङ्सिर ०७ गते छलफल भई ससुराली घरमै बसोबासका लागि एक कोठा र एक भान्सा उपलब्ध गराउने सहमति भएको थियो । तर, सहमतिपछि घर फर्किँदा बस्न दिइएको कोठामा घर निर्माणका लागि राखिएको बालुवा थुपारिएको र हटाइदिन आग्रह गर्दा बेवास्ता गरिएको पीडितको आरोप छ । सोही विषयमा कुरा गर्दा सासू मिना देवीले गालीगलौज गर्दै हातपात सुरु गरेको पीडितले बताइन् ।

पीडितका अनुसार बिहीबार दिउँसो करिब २ बजे विवाद चर्किँदै जाँदा ससुराली पक्षले अश्लील शब्द प्रयोग गर्दै लात, मुक्का, लाठी तथा फलामे पाइपले कुटपिट गरेका थिए । कुटपिटबाट पीडितको नाक, दाहिने आँखा, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र उक्त आक्रमण ज्यान मार्ने नियतले गरिएको पीडितको दाबी छ ।

घटनाबारे पीडितले कानुनी कारबाहीको माग गर्दै सम्बन्धित निकायमा उजुरी दिने तयारी गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरीको ध्यानाकर्षण गराइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस