
काठमाडौं, ११ पुस। दोस्रो संविधानसभाका सदस्य जयप्रकाश थारु नेकपा (एमाले) परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् ।
एमाले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै एमाले छोड्ने निर्णय गरेका थारुले नेकपामा प्रवेश गर्ने तयारी गरेका हुन् । थारुसहित पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सयौँ नेता तथा कार्यकर्ता पनि एमाले त्यागेर नेकपामा सामेल हुने तयारीमा छन् । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष समारोहमा उनीहरू औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
नेकपा (एमाले) पर्साका पूर्व अध्यक्षसमेत रहेका थारु निकट स्रोतका अनुसार, आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको टिकेट पाउने आश्वासनका आधारमा पार्टी प्रवेशको निर्णय गरिएको हो । “निर्वाचनमा टिकटको सुनिश्चिततासहित पार्टीले अवसर दिने विश्वासका साथ प्रवेश गर्न लागेका हौँ,” स्रोतले भन्यो ।
थारु दोस्रो संविधानसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी भएका थिए । त्यसयता भएका दुवै निर्वाचनमा थारु पर्सा ४(१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका शङ्कर चौधरीसँग पराजित हुँदै आएका छन् ।
थारुको प्रवेशले पर्सा जिल्लाको कम्युनिस्ट राजनीतिमा नयाँ तरङ्ग ल्याउने अनुमान गरिएको छ । नेकपाले मधेस प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिअन्तर्गत यस्ता प्रवेशलाई प्राथमिकता दिएको देखिन्छ । यसअघि पर्सा निर्वाचन क्षेत्र ३ बाट पूर्व मधेस प्रदेशसभा सदस्य प्रह्लाद गिरी, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियासहित सयौँ नेता र कार्यकर्ताहरू एमाले त्यागेर नेकपा प्रवेश गरेका थिए ।
