बारा–२ बाट उम्मेदवारका रूपमा उपेन्द्र यादव सिफारिस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ११, शुक्रबार (२ महिना अघि)
  • ५ पटक पढिएको
बारा–२ बाट उम्मेदवारका रूपमा उपेन्द्र यादव सिफारिस

बारा, ११ पुस । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालले बाराको संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम पुनः सिफारिस गरेको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित तत्कालीन महासचिव रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा उपेन्द्र यादव निर्वाचित भएका थिए। सप्तरीबाट पराजय भोगेपछि संसद्‌बाहिर रहेका उपेन्द्र यादव कांग्रेससहितका दलको सहयोगमा बाराबाट निर्वाचित भई संसद् प्रवेश गरेका थिए।

जसपाले उपेन्द्र यादवसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादवका छोरा शत्रुधन यादव र रामकिशोर यादवको नामसमेत सिफारिस गरेको जनाएको छ।

यता नेपाली कांग्रेसले सोही क्षेत्र नम्बर २ बाट जिल्लाका पूर्वसभापति राधेचन्द यादवको एकल नाम सिफारिस गरेको छ। राधेचन्द यादव यसअघि यस क्षेत्रबाट पटक–पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन्।

यसैगरी कांग्रेसले गृहजिल्ला बारा भएका सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र उमाकान्त चौधरीलाई क्रमशः निर्वाचन क्षेत्र नम्बर ३ र १ बाट सिफारिस गरेको छ। फरमुल्लाह मन्सुर सिफारिस भएको क्षेत्रमा क्षेत्रीय समितिले पार्टी सभापति शेरबहादुर देउवाको नाम सिफारिस गरे पनि जिल्ला समितिको सिफारिसबाट देउवाको नाम हटाइएको बताइएको छ।

त्यस्तै, उमाकान्त चौधरी सिफारिस भएको क्षेत्रमा क्षेत्रीय समितिले चौधरीसँगै शम्भुबहादुर बुढाथोकीको नामसमेत सिफारिस गरेको छ।

कांग्रेसभित्र दुई धार देखिएकाले जिल्ला र क्षेत्रीय तहबाट फरक–फरक नाम सिफारिस भएको बताइएको छ। उम्मेदवार सिफारिसको यो प्रक्रियाले बारामा आगामी निर्वाचन झनै प्रतिस्पर्धात्मक हुने संकेत देखाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

ताजा अपडेट

खोजी गर्नुहोस