
काठमाडौं, १२ पुस। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ। कन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
कांग्रेसमा फेरि महाधिवेशन विवाद चर्किएको छ। पुस २६ देखि नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएपछि क्रियाशील सदस्यताको काम गर्न नसक्दा प्रभावित भएको छ।
नियमित महाधिवेशन नहुने देखिएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विकल्प नभएको अडान दोहोर्याएका छन्। विशेष महाधिवेशन पक्षधरले हिजो स्मरणपत्र समेत बुझाएर अडान नछाड्ने बताएपछि जारी बैठकमा महाधिवेशनको विवाद पेचिलो बनेको छ।
यही बैठकबाट महाधिवेशन विवाद टुंग्याउन नेताहरूमाथि दबाब छ। यो बाहेक बैठकमा आगामी निर्वाचनको तयारीबारे पनि छलफल भइरहेको छ।
