
सर्लाही, १२ पुस। सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका – ६ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको हो।
प्रहरीका अनुसार हरिपुर्वा पोखरी नजिक बाटो काट्ने क्रममा इँटा बोकेको मधेश प्रदेश ०३ – ००१ त ८७०४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी छोरी सोहानी साह फकिरको मृत्यु भएको हो।
ट्याक्टरको ठक्करबाट उनि गम्भीर घाईते भएकी थिइन्। घाईते उनलाई उपचारका लागि तत्काल सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।
ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटना सम्बन्धि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
