समानुपातिक सांसद छान्ने विषयमा कांग्रेसभित्र तीन गुटको खिचातानी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
समानुपातिक सांसद छान्ने विषयमा कांग्रेसभित्र तीन गुटको खिचातानी

काठमाडौं, १३ पुस। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको सांसदका लागि राजनीतिक दलहरूलाई पुस १४ गतेसम्म सूची बुझाउने र त्यसमा पुस २१ गतेसम्म सच्याउने समय दिएको छ । यो समय सीमा हेर्दा सोमबार कार्यालय समयसम्म राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउनुपर्छ । 

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले समानुपातिक तर्फ आकाङ्क्षीहरूको नाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा मगाइसकेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिकतर्फको सूची निर्माणका लागि आकाङ्क्षीहरूको नाम प्रक्रियागत रूपमा केन्द्रमा आइसकेको जानकारी दिए । 

‘तल्ला तहबाट प्रक्रियागत रूपमा आकाङ्क्षी साथीहरूको नाम केन्द्रमा आइसकेको छ,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने, ‘केन्द्रमा हामीले तयारी गर्दैछौँ ।’

तल्ला तहबाट नाम आएपछि केन्द्रमा कांग्रेसका तीन गुटले फरक–फरक समूहको लिस्टको गृहकार्य गरिरहेका छन् । संस्थापन, डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्री गगन थापा समूहले छुट्टाछुट्टै समानुपातिक तर्फको सूचीको तयारी गरेका हुन् । 

संस्थापन समूहले सूची निर्माणका लागि प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिएको छ । शनिबार कार्यसम्पादन समिति बैठकअघि ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बसेको संस्थापन पक्षीय नेताहरूको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति देउवासँग भएको कुराकानीका आधारमा भन्दै प्रदेशगत रूपमा समानुपातिक सूची निर्माणका लागि भन्दै नेताहरूको नाम वाचन गरेका थिए । त्यो बैठकमा सहभागी संस्थापन समूहका एक पदाधिकारीले सातै प्रदेशमा जिम्मेवारी दिएको नाम कार्यवाहक सभापति खड्काले पढेको बताए । 

संस्थापनले कोशी प्रदेशमा नेता ज्ञानेन्द्रबहादुर कार्की, मधेस प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, बागमती प्रदेशमा प्रवक्ता डा.प्रकाशशरण महतलाई सूची निर्माणको जिम्मेवारी दिएको छ । 

त्यस्तै गण्डकी प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका नेता सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशमा बालकृष्ण खाण, कर्णाली प्रदेशमा कार्यवाहक सभापति खड्कासँग समन्वय गर्नेगरी पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, र सुदूरपश्चिम प्रदेशमा पार्टीका प्रदेश सभापति वीरबहादुर बलायरलाई सूची निर्माणको जिम्मेवारी दिइएको छ । 

डा शेखर कोइराला नेतृत्वको इतर समूहले पनि आफ्नो समूहको तर्फबाट छुट्टै सूची निर्माण गरिरहेको समूहका नेताहरू बताउँछन् । डा. कोइरालाको सचिवालयले समूहको तर्फबाट डा कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा डा. मिनेन्द्र रिजालले सूची निर्माण गरिरहेका छन् । 

अर्कोतर्फ महामन्त्री थापाको तर्फबाट उनी स्वयं र उनको सचिवालयले सूची तयार गरिरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । थापाको सूचीमा नै अर्का महामन्त्री विश्वप्रकाश शर्माका नाम समेटिने बताइएको छ । 

प्रवक्ता डा. महतले आयोगले तोकेको समयमा कांग्रेसले सूची बुझाउने र त्यसका लागि पार्टी आन्तरिक तयारीमा रहेको बताए । ‘हामीले बन्दसूचीका लागि आन्तरिक तयारी गरिरहेका छौँ । आयोगले तोकेको समयमा बन्दसूची बुझाउँछौँ,’ प्रवक्ता महतले भने । 

कार्यसम्पादन समितिबाटै सूची 

कांग्रेसमा उम्मेदवार तय गर्नका लागि संसदीय समिति बनाउने विधानमा व्यवस्था छ । तर, अहिले समानुपातिक प्रणालीको बन्दसूची बुझाउँदा संसदीय समिति नबनाएर कार्यसम्पादन समितिबाट पारित गरेर बुझाउने तयारीमा कांग्रेस छ ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा संसदीय समिति बनाउने सर्वाधिकार सभापतिमा रहेको बताउँछन् । ‘संसदीय समिति बनाउने सर्वाधिकार सभापतिमा छ, यसबारेमा के गर्ने कसो गर्ने हामीलाई जानकारी हुने कुरा भएन,’ विश्वकर्माले रातोपाटीसँग भने । सभापति देउवा निकट स्रोत पनि समानुपातिक तर्फको सूचीका लागि संसदीय समिति गठन नहुने बताउँछ । 

नेताहरूले समय ढिला भएकाले समानुपातिकको बन्द सूची कार्यसम्पादन समितिले नै बनाएर पठाउने बताएका छन् । प्रत्यक्षतर्फको उम्मेदवार तय गर्न भने संसदीय समिति बनाउने तयारी कांग्रेसको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस