
काठमाडौं, १४ पुस। राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि आफ्नो कार्यालय बाहेकका स्थानमा कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न नपाउने भएका छन् ।
कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
निर्वाचन आयोगले जारी गरेको प्रतिनिधिसभा निर्वाचन लक्षित आचारसंहितामा चुनावी प्रचारलाई सभ्य र अनुशासित बनाउन विभिन्न प्रावधान ल्याएको छ । उम्मेदवार वा दलको कार्यालयमा मात्र साइनबोर्ड तथा कपडामा बनाइएको ३ फिट चौडा र ४ फिट लामो कपडामा दलको झन्डा र सोही नापको चुनाव चिह्नबाहेक अन्य सामग्री राख्न नपाइने आचारसंहितामा उल्लेख छ ।
दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला वितरण तथा प्रयोगमा समेत रोक लगाइएको छ ।
जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारका कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र गर्नुपर्ने आचारसंहिताले भनेको छ । त्यसरी जुलुस, सभा लगायतका कार्यक्रम गर्दा २४ घण्टा अगावै स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । जुलुस, सभा वा प्रचारप्रसारमा बालबालिकाको प्रयोग निषेधित गरिएको छ ।
निर्वाचन प्रयोजनका लागि ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नाम सहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने भनिएको छ । मनोनयनपत्र पेस गर्न जाँदा वा घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढीको जुलुस लान नपाइने व्यवस्था छ । बाजा, गाजा तथा झाँकीमा प्रतिबन्ध लगाइएको छ ।
अनलाइन वेब पेज, टीभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गराउन मिल्दैन ।
आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारीक वेबपेजमा त्यस्तो प्रचार गर्न भने पाउनेछन् । दलको झन्डा वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शनमा समेत रोक लगाइएको छ ।
कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपांग्रे गाडी मोटरसाइकल, साइकल, बायलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचार गराउन नहुने आचारसंहिताको व्यवस्था छ ।
राष्ट्रिय झन्डा प्रयोगमा पनि नियन्त्रणको प्रयास आचारसंहिताले गरेको छ । आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डाको प्रयोग गर्न पाइनेछ ।
