पार्टी विलयमा विवादः कुलमान घिसिङविरुद्ध डकेन्द्रसिंह थेगिमको आरोप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १५, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
पार्टी विलयमा विवादः कुलमान घिसिङविरुद्ध डकेन्द्रसिंह थेगिमको आरोप

विराटनगर, १५ पुस। उज्यालो पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएपछि आफूहरू अलमलमा परेको बताएका छन् ।

उनले पार्टीका संरक्षक कुलमान घिसिङ कसैसँग सल्लाह नै नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको उप सभापति बनेपछि पहिचानको आन्दोलन, धर्म निरपेक्षता र सङ्घीयताको मुद्दा नै के हुने भन्ने विषयले अलमल परेको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पनि एकल निर्णय गरेको बताए ।

उनले कसैसँग सल्लाह र छलफल नै नगरी पार्टी विलय भएको राम्रो कुरा नभएको बताए । उनले भने, ‘हामी अहिले बिलखबन्दमा परेका छौं । के गर्ने कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा छौं ।’ उनले पार्टीभित्र संरक्षक घिसिङले पार्टी विलय गरेपछि क्रिया र प्रतिक्रिया जारी रहेको बताए ।

उनले भने,‘यो एकता होइन । एकता भएको भए उज्यालो नेपाल पार्टीको केही न केही त जोडिन्थ्यो होला यो त पार्टी समाहित भएको हो । पार्टी समाहित भएको विषयमा आफूहरूसँग सल्लाह भएको छैन ।’ उनले पार्टीका संरक्षक घिसिङले पार्टी विलय गराएको भन्दै अहिले आफूहरू के गर्ने र कसरी अगाडि जाने भनेर अलमलिएको बताए ।

प्रदेशको नाम कोशी राखिएपछि सुरु भएको आन्दोलनबाट पहिचानको मुद्दाका आधारमा निर्वाचनमा जाने तयारी सहित संयुक्त पहिचानवादी मोर्चा बनेको थियो । ६ महिना भित्रमा पार्टी निर्माण गर्नेगरि विभिन्न पहिचानवादी दल र समूह मिलेर मोर्चाले एक वर्ष सम्म दल भने दर्ता गर्न सकेको थिएन ।

दल दर्ता गर्न नसकिरहेको बेला सो मोर्चाका दुई नेताहरू थेगिम र प्रोफेसर डा महेन्द्रलावती उज्यालो नेपाल पार्टीमा गएका थिए । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य थेगिमले उज्यालो नेपाल पार्टीले पहिचानको मुद्दा, धर्म निरपेक्षता, समावेशिता र सङ्घीयताको पक्षमा बोल्ने आशा राखेको भए पनि अव के हुने भन्ने विषयमा अन्यौलता थपिएको बताए ।

उनले भने,‘हामीले पार्टीको चुनावी घोषणा पत्रमा सङ्घीयता धर्म निरपेक्षता र पहिचानको मुद्दालाई लेख्न घिसिङ जी लाई मनाएका थियौं। तर उहाँ त एकलौटी पाराले पार्टी विलय गराएर जानु भएको छ । यसले समग्र पहिचान पक्षधर र धर्म निरपेक्ष पक्षधरलाई अलमलमा पारेको छ ।’

उज्यालो नेपाल पार्टी रास्वपा सँग मिलेसँगै निर्वाचनका लागि रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा संयुक्त पहिचानवादी मोर्चाका नेता डा महेन्द्र लावतीको समेत नाम सार्वजनिक भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस