
वीरगञ्ज, १८ पुस। बारा जिल्लाको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरीकै एक अधिकृतको हातबाट सरकारी पेस्तोल खोसेर तस्कर समूह फरार भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । घटना भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि बारा प्रहरीले घटनालाई गुपचुप राखेको आरोप समेत लागेको छ लागेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय कवहीगोठमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले ड्युटीकै क्रममा बोकेको सरकारी ‘नाइन एन’ पेस्तोल तस्कर समूहले खोसेर लगेको आरोप लागेको हो । पुस ११ गते शुक्रवार साँझ तस्करी नियन्त्रणका क्रममा पेस्तोल ताक्ने बित्तिकै तस्करहरूले उनको हतियार थुतेर फरार भएको स्रोतको दाबी छ ।
प्रहरी स्रोतका अनुसार सई मिश्र आफ्नो कार्यक्षेत्रमा कमजोर अधिकृतको रूपमा चिनिँदै आएका थिए । यसको जानकारी हुँदाहुँदै पनि जिल्ला प्रहरी कार्यालयले उनलाई प्रतिस्थापन नगर्दा तस्करहरूले सजिलै अवसर पाएको आरोप छ । सीमावर्ती क्षेत्रमा प्रहरी व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै आलोचना बढेको छ ।
अचम्मको कुरा, घटना भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि लुटिएको पेस्तोल फेला परेको छैन । तस्कर समूह प्रहरीको हतियार लिएर खुलेआम हिँडिरहेको आशङ्का गरिए पनि प्रहरीले हालसम्म हतियार बरामद गर्न सकेको छैन ।
घटना बाहिरिएपछि मात्रै मधेस प्रदेश प्रहरी कार्यालय सक्रिय भएको देखिएको छ । बिहीबार मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
बारा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुरेश राज भट्टले पेस्तोल हराएको पुष्टि गर्दै छानबिन सुरु भएको बताए । यद्यपि, उनले तस्कर समूहले पेस्तोल नलुटेको दाबी गरे । “त्यस्तो होइन, तस्कर समूहले लुटेको भन्ने कुरा गलत हो, हामी छानबिन गर्दै छौँ,” भट्टले यात्रा डेलीसँग भने ।
उनले सई मिश्रले पेस्तोल कार्यालयभित्रै हराएको दाबी गरेको पनि जानकारी दिए । तर, गस्तीमा गएको समयमा खसेर हराएको हुनसक्ने प्रहरीको अनुमान छ । “यसअघि पनि यस्ता घटनाहरू भएका छन् । अनुसन्धानका लागि समिति गठन भएको छ, छिट्टै तथ्य बाहिर आउँछ,” भट्टले भने ।
गत वर्ष वैशाखमा पनि बाराको इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत सई पूर्ण बिसीको अटोमेटिक पेस्तोल हराएको थियो । त्यतिबेला पनि तस्करहरूलाई पक्राउ गर्ने क्रममा हतियार खसेर हराएको दाबी गरिएको भएपनि तस्कर समूहले नै खोसेको आशङ्का गरिएको थियो ।
घटना बारामा प्रहरीको लापरबाही र कमजोर व्यवस्थापनको एउटा उदाहरण मात्र हो । भारतीय राज्य बिहारसँग जोडिएको बाराको विभिन्न नाकाबाट प्रहरीकै मिलेमतोमा दैनिक रूपमा भन्सार छलेर विभिन्न सामग्रीसहित प्रतिबन्धित लागूऔषधको ओसारपसार निर्बाध रूपमा हुने गरेको छ । प्रहरीको यस्तो लापरबाही र संलग्नताकै कारण पछिल्लो समय बारा जिल्ला लागूऔषध र भन्सार छली तस्करीको प्रमुख हबको रूपमा विकास हुँदै गएको छ ।
सीमावर्ती क्षेत्रमा प्रभावकारी गस्ती र अनुगमनको अभावमा तस्करहरू निर्धक्कसँग क्रियाकलाप गरिरहेका छन् । प्रहरीले कमजोर वा अयोग्य अधिकृतहरूलाई जिम्मेवारी दिँदा र घटनाहरूलाई लुकाउने प्रयास गर्दा सङ्गठनको विश्वसनीयता गुम्नुका साथै स्थानीय बासिन्दाको ज्यान नै जोखिममा परेको छ । तस्करहरूले प्रहरीकै हतियार बोकेर हिँड्ने अवस्था सिर्जना हुनुले सुरक्षा स्थिति कति कमजोर बनेको छ भन्ने प्रस्ट हुन्छ ।
प्रहरी संगठनले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर दोषीमाथि कडा कारबाही गर्नुको सट्टा ढाकछोप गर्ने प्रवृत्ति देखाउँदा तस्करी झन् मौलाउने खतरा बढेको छ । बारामा तस्करी नियन्त्रणका लागि तत्काल कडा कदम चाल्नुपर्ने माग स्थानीय स्तरबाट उठ्न थालेको छ ।
