लालबन्दी बजारको शृंखलाबद्ध चोरीमा संलग्न थप एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १९, शनिबार (१ महिना अघि)
  • २ पटक पढिएको
लालबन्दी बजारको शृंखलाबद्ध चोरीमा संलग्न थप एक जना पक्राउ

सर्लाही, १९ पुस। सर्लाहीको लालबन्दी बजार क्षेत्रका विभिन्न वडामा विगत केही महिनादेखि घरधनी बाहिर गएको मौका छोपी ताल्चा फुटाएर चोरी हुँदै आएको घटनाको प्रहरीले खुलासा गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान तथा निरन्तर निगरानीका क्रममा चोरीमा संलग्न व्यक्ति, चोरीका गरगहना बिक्री गर्ने तथा खरिदकर्तासमेतलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित आरके ज्वेलर्सका सञ्चालक तथा लालबन्दी–१० चन्द्रपुर बस्ने दलबहादुर विकका छोरा अन्दाजी ४२ वर्षीय रमेश विक र लालबन्दी–६ बस्ने साइरा ज्वेलर्सका सञ्चालक छविलाल विकका छोरा अन्दाजी ३१ वर्षीय कुमार विकले बिल भरपाईबिनाको सुनका गरगहना खरिद गरेको विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

सोधपुछका क्रममा ती गरगहना लालबन्दी–७ मा डेरा गरी बस्ने विदेशी साहकी श्रीमती अन्दाजी ३५ वर्षीया पिंकी देवी साहले बिक्री गरेको खुलेपछि उनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पिंकी देवी साहको कोठा खानतलासी गर्दा दराजको लकरबाट तिलहरी १ थान, टप २ थान, मंगलसूत्र १ थान, औँठी १ थान, बाला १ थान, गेडी ८ थान र नगद १ लाख २ हजार ५ सय ६० रुपैयाँ बरामद गरिएको छ ।

बरामद गरगहनाहरू पीडितलाई देखाउँदा चोरीकै भएको सनाखत भएपछि मुख्य चोरी गर्ने, बिक्रीमा संलग्न र खरिदकर्तासमेतलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका क्रममा महोत्तरीको औराही गाउँपालिका–२ बस्ने रामविनय महतोका २४ वर्षीय छोरा रविन महतो समेत चोरीमा संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । उनलाई १७ गते स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिई घर खानतलासी गर्दा झुम्का २ थान, टप २ थान, औँठी १ थान, छड्के तिलहरी १ थान, हार्ड नेक्लेस १ थान, ल्यापटप १ थान तथा चोरीमा प्रयोग भएका औजार ५ थान बरामद गरिएको छ ।

हाल सबै अभियुक्तलाई अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरगहनाहरू आफ्ना भएको दाबी गर्ने पीडितलाई सनाखतका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा उपस्थित हुन अनुरोध गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस