ठेकेदारको लापरबाहीबाट महिला गम्भीर घाइते, उपचारमा सहयोग नपाएको गुनासो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १९, शनिबार (१ महिना अघि)
  • २ पटक पढिएको
ठेकेदारको लापरबाहीबाट महिला गम्भीर घाइते, उपचारमा सहयोग नपाएको गुनासो

रौतहट, १९ पुस। रौतहटको गढीमाई नगरपालिका–८, बिरनगरा निवासी राजकिशोर पासवानकी आमा अन्दाजी ६० वर्षीया बिफिया देवी पासवान गम्भीर दुर्घटनामा परेकी छिन्। मिति २०८२ साल ०८ महिनाको १५ गते बजार जाँदै गर्दा बाटोछेउमै काटिएको रुख अचानक खस्दा उनी गम्भीर रूपमा घाइते भएकी हुन्।

स्थानीय ठेकेदार श्याम नारायण पटेलले कुनै पनि सुरक्षा सावधानी नअपनाई इलेक्ट्रिक ‘साउन्डलेस’ मेसिन प्रयोग गरी रुख काटिरहेको अवस्थामा उक्त दुर्घटना भएको पीडित पक्षको भनाइ छ। बाटो प्रयोग गर्ने सर्वसाधारणलाई सचेत गराउने कुनै संकेत, घेराबार वा पूर्वसूचना बिना गरिएको रुख कटानकै कारण निर्दोष महिला दुर्घटनामा परेको आरोप लगाइएको छ।

घटनापछि गम्भीर घाइते भएकी बिफिया देवी पासवान हाल जीवन–मृत्युसँग संघर्ष गरिरहेकी छन्। तर, दुर्घटनाका मुख्य जिम्मेवार ठेकेदार पटेलले आफ्नो पावर र पहुँचको दम्भ देखाउँदै उपचारमा कुनै पनि सहयोग नगरेको पीडित परिवारको गुनासो छ। उपचार खर्चको अभावमा पीडित महिला छटपटाइरहेकी र उपचारमा समेत कठिनाइ भइरहेको परिवारजनले बताएका छन्।

पीडितका छोरा राजकिशोर पासवानले न्यायको माग गर्दै पत्रकार सम्मेलनमार्फत आफ्नो दुःखेसो पोखेका छन्। उनले दोषी ठेकेदारमाथि कानुनी कारबाही गर्न र आमाको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। घटनाप्रति स्थानीयवासीहरू समेत आक्रोशित भएका छन्। उनीहरूले विकासका नाममा भइरहेको लापरबाही र गैरजिम्मेवार कार्यले सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै यस्ता गतिविधिमा तत्काल रोक लगाउन माग गरेका छन्। यस घटनाबारे स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पीडित परिवारले शीघ्र न्याय र उपचारको सुनिश्चितता गर्न माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस