जुत्ता पसल र ट्याक्सी चालकमार्फत नक्कली नोट कारोबार, ६ पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २०, आईतबार (१ महिना अघि)
  • ३ पटक पढिएको
जुत्ता पसल र ट्याक्सी चालकमार्फत नक्कली नोट कारोबार, ६ पक्राउ

काठमाडौँ, २० पुस। बौद्ध चुच्चेपाटी स्थित लिनिङ स्टोरमा सिन्धुपाल्चोक घर भएका दावा नोर्बु शेर्पाले एकजोर जुत्ता र मोजा खरिद गरे । जुत्ता मोजाको मूल्य १४ हजार ५ सय भयो भनेर पसलेले भनेपछि उनले हजारका १५  थान नोट दिए । पुस १२ मा जुत्ता पसलबाट ५ सय फिर्ता लिएर दावा नोर्बु त्यहाँबाट हिँडे ।

स्टोर सञ्चालकले जुत्ता बेचेको नोट अन्य नोटभन्दा फरक लागेर टिकटकमा भिडियो पोस्ट गरे । भिडियोमा उनले भनेका छन्, ‘जुत्ता किन्न आएका ग्राहकले नक्कली नोट दिएर ठगे ।’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना प्रहरी अधिकृतले सो भिडियो देखेपछि त्यसबारे प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकालाई जानकारी गराए ।

बौद्ध प्रहरीले अनुसन्धान सुरु गर्दै थियो । त्यसैबेला एकजना ट्याक्सी चालक प्रहरी वृत्त गौशालामा पुगेर भने, ‘मलाई भाडा दिनेले नक्कली नोट दिएर ठगे ।’

नक्कली नोटको कारोबार गर्नेले ट्याक्सी चालकलाई सालीनदी लगेर त्यहाँबाट गौशाला छाड्न लगाएका थिए । ट्याक्सी भाडा १८ सय उठ्यो । आरोपीहरूले आफ्नो ईसेवामा थप ३२ सय ट्रान्सफर गर्न लगाएर ५ हजारको नोट दिएर ट्याक्सीको ढोका पनि नलगाई फरार भए । गौशाला प्रहरी र बौद्ध प्रहरीले खोजेको समूह एउटै थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूसँगको समन्वयमा बौद्धबाट खटिएको प्रहरीले पुस १६ मा ६ जनालाई नियन्त्रणमा लियो । उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएर काठमाडौँको शंखरापुर बस्ने ३२ वर्षीय दावा नोर्बु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका घर भएका ३२ वर्षीय प्रकाश गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिका घर भएकी ४२ वर्षीय रेणुका भारती, बलेफी गाउँपालिका घर भएका ६५ वर्षीय गोकर्ण थापा र काठमाडौँ शंखरापुर घर भएका ४३ वर्षीय सुक बहादुर स्याङ्बो छन् ।

लिनिङ स्टोरबाट निस्केका दावा नोर्बुको मोटरसाइकल पछ्याएर उनीहरूलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए । उनीहरू विरुद्ध प्रहरी वृत्त बौद्धले मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । एकले अर्कोबाट फर्जी नोट लिएको पोल गरेपछि ६ जना पक्राउ परेका हुन् । अनुसन्धान अधिकृतहरूले अहिलेसम्म ९३ वटा हजार फर्जी नोट बरामद गरेका छन् । एसपी भट्टराई भन्छन्, ‘आरोपीहरू एकको अर्कोसँग सम्पर्क देखिन्छ ।’

आरोपीहरूले फर्जी नोट बजारमा प्रयोग गरेर रिचार्ज कार्ड पनि खरिद गरेको अनुसन्धानबाट थाहा भएको प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकाले बताए ।

  • सातौँ आरोपी पक्राउ, रक्सौलबाट ल्याएको बयान

फर्जी नोट कारोबारमा ‘कनेक्सन’ देखिएका सातौँ आरोपी बाराबाट पक्राउ गरेका छन् । बारा घर भएका गौरीशङ्कर यादवलाई पनि अनुसन्धानको लागी नियन्त्रणमा लिएको एसपी भट्टराईले बताए । यादव सुमो चालक हुन् । अत्तरखेलमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्दा नोट काठमाडौँ सम्म ल्याउनेमा यादवको भूमिका देखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

यादवले काठमाडौँबाट थापा दाइ नाम गरेका व्यक्तिले नक्कली नोट ल्याइदिनु भनेर बारम्बार फोन गरेपछि आफूले भारतीय बजार रक्सौलमा पुगेर नोट ल्याइदिएको प्रारम्भिक बयानमा खुलाएका छन् । ९ लाख फर्जी नोट बापत थापा दाइले आईएमई गरेर २ लाख ७० हजार नेपाली रुपैयाँ पठाइदिएको उनले बताएका छन् ।

रक्सौलमा ९ लाख रकम दिने व्यक्ति आफूले नचिनेको यादवले प्रहरीसँग जिकिर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस