
जनकपुरधाम, २१ पुस। धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादका कारण भएको उच्छृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।हिन्दू समुदायमाथि अभद्र टिप्पणी गर्दै टिकटकमा भिडियो बनाएको र त्यसको प्रतिक्रियास्वरूप मस्जिदमा तोडफोड तथा धार्मिक ग्रन्थ जलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा कमला नगरपालिका वडा नं. ६ का १९ वर्षीय हैदर अन्सारी र १९ वर्षकै अमानत अन्सारीलाई पक्राउ गरेको छ। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्मसम्बन्धी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
सोही भिडियोका कारण आक्रोशित भएका युवाहरूको समूहले सखुवा टोलस्थित मस्जिदमा तोडफोड गरी धार्मिक ग्रन्थ तथा कागजातहरू जलाएपछि प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको थियो। मस्जिदमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले सोही वडाका २५ वर्षीय कपिल भनिने प्रताप साहलाई पक्राउ गरेको छ।
साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १५५ अन्तर्गतको धर्मसम्बन्धी कसूरमा म्याद थप गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ। धनुषा प्रहरीले सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि आँच पुर्याउने सामग्री पोस्ट नगर्न सचेत गराउँदै साम्प्रदायिक सद्भाव कायम राख्न सबैमा अपिल गरेको छ।
