पाण्डेपुरबाट हुण्डी कारोबारमा संलग्न तीन जना १० लाखभन्दा बढी रकमसहित पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २१, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
पाण्डेपुरबाट हुण्डी कारोबारमा संलग्न तीन जना १० लाखभन्दा बढी रकमसहित पक्राउ

पर्सा, २१ पुस। पर्सा प्रहरीले अवैध आर्थिक कारोबार नियन्त्रण अभियानलाई तीव्र बनाउँदै श्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको अवैध रकम नियन्त्रण अभियान अन्तर्गत पाण्डेपुर क्षेत्रबाट हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मिति २०८२ साल पुस १८ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरी सहायक निरीक्षक वसिम राजाको कमान्डमा रहेको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका–३ गडैयाटोलस्थित सडकखण्डबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन्। उनीहरूको साथबाट श्रोत नखुलेको नगद रु. १०,०२,०१० (अक्षरेपी दश लाख दुई हजार दश रुपैयाँ) तथा ना.१६ प ३०२० नम्बरको NXG स्प्लेन्डर मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद नगद रकमको श्रोत खुलाउन नसकेपछि उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा मुद्दा दर्ता गरिएको छ। सम्मानित पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

प्रहरी प्रमुख एसपी पाठकका अनुसार पछिल्लो समय अवैध हण्डी कारोबार, श्रोत नखुलेको नगद ओसारपसार तथा आर्थिक अपराधका घटनाहरू बढ्दै गएकाले यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी, सूचनाको विश्लेषण र कारबाहीलाई अझ कडा बनाइने छ। उनले अवैध आर्थिक कारोबारमा संलग्न नहुन तथा यस्ता गतिविधिबारे सूचना भए प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रहसमेत गरेका छन्।

पर्सा प्रहरीले आर्थिक अनुशासन कायम गर्न र अवैध कारोबारलाई निरुत्साहित गर्न आगामी दिनहरूमा समेत निरन्तर रूपमा कडा अनुगमन तथा कारबाही अभियान सञ्चालन गर्ने जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस