
पवन कुमरा उपाध्याय
रौतहट, २१ पुस। रौतहटको गौरमा बरामद गरिएको अवैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय रौतहटले नष्ट गरेको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका–५ स्थित वि.पि. चौक क्षेत्रमा गस्ती गर्ने क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा घरेलु मदिरा लैजाँदै गरेको अवस्थामा केही व्यक्तिहरूलाई देखेपछि उनीहरू मदिरा बोकेको बोरा तथा प्लास्टिक ग्यालेन फाली फरार भएका थिए।
घटनास्थलमा वेवारिसे अवस्थामा फेला परेको प्लास्टिक ग्यालेनभित्रको घरेलु मदिरा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा दाखिला गरिएको थियो। बरामद मदिरा नष्ट गर्नुपर्ने भएपछि प्रहरीले नष्ट मुचुल्का तयार गरी जनप्रतिनिधि, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको रोहबरमा कार्यालय परिसरभित्र खाल्टो खनी करिब ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको रौतहट प्रहरीले जनाएको छ। प्रहरीले अवैध घरेलु मदिरा उत्पादन तथा ओसारपसारविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
