जग्गा लिलामीको पीडामा बैंकभित्रै आत्मदाह प्रयास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २१, सोमबार (१ महिना अघि)
  • १  पटक पढिएको
जग्गा लिलामीको पीडामा बैंकभित्रै आत्मदाह प्रयास

विराटनगर, २१ पुस। सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एक ऋणीले आत्मदाह प्रयास गरेका छन् ।

इटहरी आइतबारेका लालबहादुर पौडेलले एनआईसी एसिया बैंकको इटहरीस्थित शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्किन खोजेका हुन् । उनी बोतलमा पेट्रोल बोकेर बैंक गएका थिए ।

आफ्नै शरीरमा पेट्रोल छर्किन खोजेपछि उनलाई बैंकका कर्मचारी र दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका सदस्यले जोगाए । पौडेलले इटहरीमा रहेको जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएको बुझिएको छ ।

झापामा मदिरा फ्याक्ट्री सञ्चालनका लागि भनेर साहले पौडेलसँग ब्याज दिने सहमतिमा धितो मागेका थिए । साढे २ करोड रूपैयाँमा आफ्नो जग्गा धितो राखेपछि साहले ब्याज पनि नदिएको र किस्ता पनि नतिरेको पौडेलले बताएका छन् ।

जग्गा लिलामी प्रक्रियामा गएपछि आफूलाई तनाव भएको उनको भनाइ छ । बैंकले बोलाएपछि लालबहादुरले दुर्गा प्रसाईँका केही कार्यकर्ता लिएर गएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले पौडेलले बैंकमा पुगेर आगो लगाउने प्रयास गरेको भन्दै अनुसन्धान भइरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस