
काठमाडाैं, २१ पुस। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको स्थानहद फुकुवा भएको छ। जेन–जी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिएसँगै ओलीको स्थानहद फुकुवा भएको हो।
आयोगले गत असोज १२ मा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थानहद लगाएको थियो।
‘ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएको छ,’ आयोगको निर्णयमा भनिएको छ।
आयोगको संवैधानिक हैसियत र निष्पक्षतामाथि प्रश्न उठाउँदै बयान नदिने सार्वजनिक घोषणा गर्दै आएका ओलीले आइतबार निवासमै पुगेको आयोग टोलीलाई बयान दिएका हुन्।

