निषेधाज्ञाबीच वीरगञ्जमा हिंसा, ईदगाहचोकमा मोटरसाइकल जलाइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २१, सोमबार (१ महिना अघि)
  • २ पटक पढिएको
निषेधाज्ञाबीच वीरगञ्जमा हिंसा, ईदगाहचोकमा मोटरसाइकल जलाइयो

वीरगञ्ज, २१ पुस। वीरगञ्जको छपकैया क्षेत्रस्थित ईदगाहचोकमा सोमबार एउटा मोटरसाइकलमा आगजनी गरिएको छ। स्थानीय स्रोतका अनुसार मुस्लिम समुदायका केही व्यक्तिहरूले मोटरसाइकलमा आगो लगाएका हुन् । घटनापछि वीरगञ्जको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ।

यसैबिच हिन्दु धर्म, देवी–देवता, पर्व तथा मन्दिरहरूप्रति अभद्र र आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै हिन्दु समाजको आह्वानमा वीरगञ्जमा विशाल जुलुस तथा प्रदर्शन गरिएको छ । हजारौँको सङ्ख्यामा सहभागी भएको उक्त प्रदर्शनमा हिन्दु समाज तथा विभिन्न धार्मिक सङ्घ–संस्थाका प्रतिनिधि, युवा, महिला तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थिति थप संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्म कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ । निषेधाज्ञा लागू गरिएको क्षेत्रको चार किल्ला पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट तोकिएको छ। उक्त क्षेत्र वीरगञ्जको केन्द्रीय तथा अत्यन्त व्यस्त क्षेत्र मानिन्छ ।

स्थिति नियन्त्रणमा लिन जनपथ प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति परिचालन गरिएको छ । घटनास्थलको अवस्थाबारे बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी तथा नेपाली सेनाको टोली समेत स्थलगत रूपमा खटिएको जनाइएको छ ।

निषेधाज्ञाका बिच पनि वीरगञ्जको विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारीहरूबिच झडप भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक आफै फिल्डमा उत्रिएका छन् । प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि केही सेल अश्रुग्याँस पनि चलाइएको छ ।

अर्कोतर्फ वीरगञ्जको अधिकांश स्थानमा जनजीवन सामान्य रहेको छ । यहाँको घण्टाघर चोक, माइस्थान चोक, बसपार्क चोकलगायतका स्थान शान्तिपूर्ण रहेको छ । प्रशासनले सर्वसाधारणलाई शान्ति, संयम र सतर्कता अपनाउन आग्रह गर्दै अफवाहमा नलाग्न र सुरक्षाकर्मीलाई सहयोग गर्न अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस