दोस्रो पटक कर्फ्यु थप, वीरगञ्जमा मङ्गलवार साँझ ६ बजेसम्म लागू

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २२, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
दोस्रो पटक कर्फ्यु थप, वीरगञ्जमा मङ्गलवार साँझ ६ बजेसम्म लागू

वीरगञ्ज, २२ पुस। धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर उत्पन्न साम्प्रदायिक तनावका कारण अशान्त बनेको वीरगञ्जमा कर्फ्युको अवधि फेरि थपिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै दोस्रो पटक कर्फ्युको समयावधि बढाउँदै मङ्गलवार साँझ ६ बजेसम्मका लागि आदेश निरन्तरता दिएको हो ।

यसअघि सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्मका लागि जारी कर्फ्यु अवस्था पूर्ण सामान्य नभएपछि पहिलो पटक दिउँसो १ बजेसम्म र दोस्रो पटक साँझ ६ बजेसम्म थप गरिएको हो ।

कर्फ्यु क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शङ्कराचार्य गेटसम्म सीमित छ । यस अवधिमा आवतजावत, भेला, जुलुस वा प्रदर्शन पूर्ण निषेध गरिएको छ भने अत्यावश्यक सेवाहरू र पूर्वनिर्धारित परीक्षाका लागि प्रवेश पत्र भएका परीक्षार्थीहरूलाई सहजीकरण गरिने व्यवस्था कायम छ ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा भएको बैठकमा सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो ।

बैठकले वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै शान्ति–सुरक्षा व्यवस्थापन, कर्फ्युको अवधि र सामाजिक सद्भाव कायम राख्ने उपायहरूमा केन्द्रित छलफल गरेको बुझिएको छ ।

बैठकपछि हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टै छलफल चलिरहेको छ । प्रशासन स्रोतका अनुसार दुवै समुदायबिचको तनाव न्यूनीकरण तथा दीर्घकालीन सद्भावका लागि साझा समझदारी खोज्ने प्रयास भइरहेको छ । सर्वपक्षीय बैठक र समुदाय स्तरीय छलफलको निष्कर्षपछि कर्फ्युसम्बन्धी थप निर्णय सार्वजनिक गरिने जनाइएको छ ।

वीरगञ्जका मुख्य चोक र संवेदनशील क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति कायम छ । प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न, संयतता अपनाउन र सुरक्षा निकायलाई सहयोग गर्न निरन्तर अपिल गरिरहेको छ । स्थिति सामान्य भए लगत्तै कर्फ्यु खुकुलो पार्ने वा हटाउने निर्णय लिइने प्रशासनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस