वीरगञ्जमा हिन्दु–मुस्लिम पक्षबीच सहमति, कर्फ्यु हट्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २२, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
वीरगञ्जमा हिन्दु–मुस्लिम पक्षबीच सहमति, कर्फ्यु हट्यो

वीरगञ्ज, २२ पुस। धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर उत्पन्न साम्प्रदायिक तनावका कारण केही दिनदेखि अशान्त बनेको वीरगञ्जमा कर्फ्यु आदेश हटाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शान्ति सुरक्षा कायम राख्न जारी गरिएको कर्फ्यु आज मङ्गलवार अपराह्न ३:३० बजेदेखि लागू हुने गरी पूर्ण रूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रशासनका अनुसार सर्वदलीय/सर्वपक्षीय बैठकमा हिन्दु र मुस्लिम पक्षबिच भएको सहमति र जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएपछि कर्फ्यु हटाउने निर्णय लिइएको हो ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा भएको बैठकमा सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो । बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटना वा दुर्घटनालाई लिएर वीरगञ्जमा कुनै पनि प्रदर्शन वा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसको सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिएर ज्ञापन पत्र बुझाउने र त्यसपछि मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

भविष्यमा हुन सक्ने धार्मिक तथा सामाजिक सद्भाव विरोधी गतिविधिहरू नियन्त्रण गर्न र आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न स्थायी सद्भाव संयन्त्र गठन गरिएको छ । संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित साह र रञ्जन सिंह, मुस्लिम समुदायबाट मोहम्मद महबुब अलि (शेरु) र अलि असगर मदनी तथा अन्य धार्मिक समुदायबाट आवश्यकता अनुसार प्रतिनिधि रहनेछन् । यसैगरी जिल्लास्थित राजनीतिक दलहरूबाट एक/एक जना प्रतिनिधि, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र नागरिक समाजको प्रतिनिधि पनि संयन्त्रमा समावेश हुनेछन् ।

बैठकले सबै प्रकारका मिडियाकर्मीलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवारीपूर्वक सामग्री प्रकाशन तथा प्रसारण गर्न अनुरोध गरेको छ । धार्मिक तथा सामाजिक सद्भाव भड्काउने दुरुत्साहन गर्ने समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, सबै पक्षले आफ्नो समुदायभित्र भएका कमजोरीहरूको मनन गर्दै अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न आफ्ना सदस्यहरूलाई निर्देशित गर्ने सहमति भएको छ ।

बैठकमा उपस्थित सबै संस्था, पक्ष, अभियन्ता तथा अगुवाहरूले निर्णयहरूलाई आफ्नो संस्थाको वेबसाइट र फेसबुक पेजमा अपलोड गर्ने तथा यसको पक्षमा विज्ञप्ति जारी गर्ने सहमति गरेका छन् ।विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

यसअघि मङ्गलवारको बैठकले आज साँझ ४ बजेदेखि सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो तर हिन्दु समुदायका अगुवाहरूले प्रशासनले जबरजस्ती दबाब दिएको र छलकपटपूर्ण ढङ्गले सहमति बनाउन खोजेको आरोप लगाउँदै असहमति जनाएका थिए ।

हिन्दु अगुवा रञ्जित साहले अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म र्‍याली आवश्यक नभएको बताउँदै अघिल्लो वर्ष पनि यस्तै प्रक्रियाबाट धोका भएको स्मरण गरेका छन् । उनले यस पटक कुनै दबाबमा सहमति नदिने स्पष्ट पारेका छन् । प्रशासनले संशोधित निर्णयहरूको कार्यान्वयनबाट स्थिति छिट्टै सामान्य हुने विश्वास व्यक्त गरेको छ ।

धनुषाको मस्जिद तोडफोड घटना र सामाजिक सञ्जालमा धार्मिक टिप्पणीबाट सुरु भएको तनावका कारण वीरगञ्ज अशान्त बनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस