अबिना हत्या आरोपमा धनुषाका एक व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २३, बुधबार (१ महिना अघि)
  • ३ पटक पढिएको
अबिना हत्या आरोपमा धनुषाका एक व्यक्ति पक्राउ

सिरहा, २३ पुस। गत मंसीर २२ गते सिरहाको कर्जन्हा नगरपालिकामा १७ वर्षीया किशोरी अबिना बैधको हत्या प्रकरणमा धनुषाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेम प्रस्ताव, आपसी शंका र ईष्र्याले घटनाले भयावह मोड लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–३ निवासी करिब ४५ वर्षीय राम बालक चौधरीलाई पक्राउ गरिएको हो । कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिँचाइ नहरबाट करिब १५–२० मिटर तल झाडीभित्र अबिनाको शव विभत्स अवस्थामा फेला परेको थियो ।

घटना हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक अनन्त राम शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटाइएको थियो । मृतकको शव पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । पोष्टमार्टम तथा प्रारम्भिक अनुसन्धानपछि मृतक कर्जन्हा नगरपालिका–१ बाल्टिया निवासी स्वर्गीय सूर्यदेव बैधकी १७ वर्षीया छोरी अबिना बैध रहेको पुष्टि भएको थियो । घटनाको अनुसन्धानको क्रममा चौधरी शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरिएको जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार गत मंसिर २१ गते राति पोर्ताहा क्षेत्रस्थित एक होटलमा मदिरा सेवन गरिरहेका चौधरी र मृतक किशोरीबीच पटक पटक मोबाइल फोन सम्पर्क भएको खुलेको छ । सोही राति करिब ८ः३० बजे दुबैबीच कुराकानी भई चौधरीले भेट्न बोलाएपछि अबिना बैध राति करिब ९ः१५ बजे उनको डेरा कोठामा पुगेकी थिइन् ।

त्यसपछि, दुबै जना कमला नदी किनार हुँदै विद्यालय अगाडि रहेको पोखरी नजिकको सुनसान स्थानमा पुगेका थिए । अनुसन्धानका क्रममा दुबैबीच सहमतिमै शारीरिक सम्बन्ध भएको खुलेको प्रहरीको दाबी छ । तर, विवाहको प्रस्ताव, आपसी अविश्वास र ईष्र्याका कारण उनीहरूबीच पहिलेदेखि नै विवाद हुँदै आएको र सोही विवादले घटनाको रात भयावह रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवादका क्रममा आवेगमा आएर राम बालक चौधरीले किशोरीको घाँटी थिचेर हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

प्रहरीका अनुसार घाँटी थिचेपछि ढुंगाले अनुहारमा प्रहार गर्दा किशोरी बेहोस भएकी थिइन् । त्यसपछि उनलाई नजिकैको झाडीमा तानेर लगी ढुंगाले अनुहार किची ज्यान लिएको र शव त्यहीँ छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनासम्बन्धी अन्य पाटो तथा सम्भावित थप संलग्नता भए÷नभएको विषयमा पनि अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस