वीरगञ्जमा आँपको रुखमा श्री हनुमानजस्तै आकृति, दर्शन गर्न भक्तजनको भीड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २४, बिहिबार (१ महिना अघि)
  • २ पटक पढिएको
वीरगञ्जमा आँपको रुखमा श्री हनुमानजस्तै आकृति, दर्शन गर्न भक्तजनको भीड

वीरगञ्ज, २४ पुस। वीरगञ्ज महानगरपालिका–१० स्थित बौधिमाई मन्दिर पछाडिको खाली जग्गामा रहेको एउटा पुरानो आँपको रुखमा भगवान् श्री हनुमानजीको स्पष्ट आकृति प्रकट भएको छ । घटनाले वीरगञ्ज क्षेत्रमा ठुलो धार्मिक उत्साह जगाएको छ र हजारौँ श्रद्धालुहरू दर्शनका लागि आउने क्रम जारी छ ।

आकृति पहिलो पटक बुधवार साँझबाट देखिएको हो । खाली जग्गामा घाँस काटिरहेकी एक स्थानीय महिलाले रुखको बोक्रामा हनुमानजीको पूर्ण आकृति देखेर छिमेकीहरूलाई जानकारी गराएकी थिइन् । त्यसपछि साँझ करिब ५ बजेदेखि नै वीरगञ्जका विभिन्न वडाबाट हजारौँ श्रद्धालुहरूको भिड लाग्न थालेको थियो ।

बिहीबार दोस्रो दिन बिहानैदेखि पर्सा, बारा जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरू रक्सौललगायतबाट श्रद्धालुहरूको ओइरो लागेको छ । स्थानीयहरूले आकृतिलाई साक्षात् भगवान् श्री हनुमानजीको प्रकटीकरण मान्दै रुखको फेदमा पूजा सामग्री राखेर पूजापाठ सुरु गरेका छन् । फूल, धूप, दीप र प्रसाद चढाउनेको लाम लागेको छ ।

बौधिमाई मन्दिरका पुजारी ददन ओझाले आकृति प्रकट भएदेखि नै दिनरात श्रद्धालुहरूको भिड लागिरहेको बताए । हजारौँले दर्शन गरी पूजापाठ गरेको जानकारी दिँदै उनले आकृति प्रकट हुने घटनालाई उनले भगवान्को कृपाको संज्ञा दिए । ओझाले सबैलाई दर्शन गर्न आउन अनुरोध पनि गरे ।

वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष सुशील कुमार कानुले आकृति प्रकट हुने घटनालाई धार्मिक आस्थाको सम्मान गर्दै संरक्षणमा जोड दिएका छन् । उनले भने आकृति देखिएको स्थान आफ्नो वडामा पर्ने बताउँदै स्थानीयहरूको भावनालाई सम्मान गर्दै आकृतिको संरक्षणका लागि आवश्यक कदम चालिने जानकारी दिए ।

श्रद्धालुहरूको सुविधाका लागि व्यवस्थापन गर्न वडा कार्यालय तयार रहेको पनि उनले बताए । कानुले महानगरपालिकासँग समन्वय गरी दीर्घकालीन संरक्षण र मन्दिर निर्माणको योजना अघि बढाउन सकिने बताए ।

आकृति दर्शन गर्न पुगेका हिन्दुवादी अगुवा चन्दन कुमारले घटनालाई वीरगञ्जवासीका लागि ठुलो सौभाग्य बताए । उनले रुखमा साक्षात् श्री हनुमानजी प्रकट हुनुभएको बताउँदै आकृतिको संरक्षण गर्दै यहाँ भव्य मन्दिर निर्माण गर्नुपर्नेमा जोड दिए ।

यस्तै, वीरगञ्ज–६ अलौँबाट आएका सञ्जय साह कानुले भगवान् हनुमानजीले वीरगञ्जवासीलाई प्रत्यक्ष दर्शन दिएर आशीर्वाद प्रदान गरेको बताए । उनले पनि मन्दिर निर्माणको जोडदार माग राखे ।

स्थानीयहरूले वीरगञ्ज महानगरपालिकासँग आकृति भएको स्थानमा भव्य हनुमान मन्दिर निर्माण गर्न औपचारिक आग्रह गरेका छन् । उनीहरूका अनुसार मन्दिरले धार्मिक मात्र होइन, पर्यटकीय महत्त्व पनि बढाउने छ ।

घटनाले वीरगञ्जमा धार्मिक एकता र उत्साहको वातावरण सिर्जना गरेको छ । श्रद्धालुहरूको सङ्ख्या दिनदिनै बढ्दै गएकाले सुरक्षा र व्यवस्थापनमा पनि ध्यान दिन जरुरी देखिएको छ । भगवान् श्री हनुमानजीको कृपाले सबैको मनोकामना पूरा होस् भन्ने कामना गर्दै श्रद्धालुहरू फर्किरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस