इरानमा जनआन्दोलन चर्किँदै, सरकारी दमनमा ७० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २७, आईतबार (१ महिना अघि)
  • ३ पटक पढिएको
इरानमा जनआन्दोलन चर्किँदै, सरकारी दमनमा ७० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

काठमाडौं, २७ पुस। इरानमा आर्थिक सङ्कट बढ्दै गएपछि राजधानी तेहरानको ग्राण्ड बजार क्षेत्रबाट केही व्यवसायीहरूले सुरु गरेको सरकार विरोधी प्रदर्शन दुई सातामा देशभर फैलिएको छ ।

देशका सबै प्रान्तका रहेका एक सय भन्दा बढी सहरमा प्रदर्शन फैलिएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । इरानको सुरक्षा फौजको कडा दमनका कारण सयौँ प्रदर्शनकारी मारिएका छन् भने दर्जनौँ घाइते भएका छन् । त्यस्तै सरकारले हजारौँलाई नियन्त्रणमा लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूसँग कुरा गरेका इरानका विभिन्न अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले आफ्ना स्वास्थ्य संस्थाहरू मृतक र घाइतेको सङ्ख्याले भरिभराउ भएको बताएका छन् ।

तेहरानका एक अस्पतालका एक चिकित्सकले भने, “युवाहरूको टाउको र मुटुमा प्रत्यक्ष गोली लागेका धेरै बिरामी आएका छन् । धेरैले अस्पताल पुग्नुभन्दा पहिले नै ज्यान गुमाइसकेका थिए ।” अर्की स्वास्थ्यकर्मीले शव गृहमा ठाउँ नपुगेर शवहरूलाई एक अर्कामाथि राखिएको छ । त्यहाँ ठाउँ नपुगेपछि प्रार्थना कक्षमा पनि राखिएको उनले बताइन ।

तेहरानको मुख्य आँखा अस्पताल फराबीमा आँखामा छर्रा गोली लागेका सयौँ बिरामीको उपचार भइरहेको छ स्रोतहरूको दाबी छ । रश्त सहरको पौर्सिना अस्पतालमा शुक्रवार राति मात्र ७० वटा शव ल्याइएको र शव गृह भरिएपछि अन्यत्र लगिएको स्रोतले बताएको छ । आफन्तलाई शव बुझाउन ७ अर्ब रियाल (लगभग ७ हजार अमेरिकी डलर) तिर्न भनिएको थियो ।

मानव अधिकार समूहहरूका अनुसार प्रदर्शनमा कम्तीमा ७८ प्रदर्शनकारी मारिएका छन् भने कुल ११६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ३८ सुरक्षाकर्मी पनि छन् । कम्तीमा ७ जना नाबालक पनि मारिएका छन् भने २,६३८ जना पक्राउ परेका छन् । बिबिसी फारसीले २६ जनाको मृत्युको पहिचान पुष्टि गरेको छ जसमा ६ जना बालबालिका छन् ।

प्रदर्शन डिसेम्बर २८ मा तेहरानको बजार क्षेत्रमा महँगीविरुद्ध सुरु भएको थियो । यद्यपि, चाँडै नै सरकार विरोधी नारा लगाउँदै देशव्यापी बनेको छ । प्रदर्शनकारीले सवारी साधन र सरकारी भवनमा आगो लगाएका दृश्यहरू भिडियोमा देखिएका छन् । इरानको सेनाले सार्वजनिक सम्पत्तिको रक्षा गर्न सुरक्षा फौजसँगै खटिने घोषणा गरेको छ ।

इरानको सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले शुक्रवार टेलिभिजन सम्बोधनमा प्रदर्शनकारीलाई “विनाशकारी तत्त्व” भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदर्शन उक्साएको आरोप लगाएका छन् ।

खामेनीको चेतावनी पछि ट्रम्पले सामाजिक सञ्जालमा इरान स्वतन्त्रतातर्फ अगाडि बढिरहेको र त्यहाँको जनतालाई अमेरिका सहयोग गर्न तयार रहेको लेखेका छन् । उनले प्रदर्शनकारीमाथि हत्या भए अमेरिकाले सैन्य कारबाही गर्ने धम्की दोहोर्‍याएका छन् तर “जमिनमा सेना नपठाउने” स्पष्ट पारेका छन् ।

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री किर स्टार्मर र जर्मन चान्सलर फ्रिडरिख मर्जले संयुक्त वक्तव्य जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न इरानलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घले पनि हिंसात्मक दमनको निन्दा गरेको छ ।

इरानमा बिहीबार साँझदेखि इन्टरनेट पूर्ण रूपमा बन्द हुँदा जानकारी सङ्कलन र प्रमाणीकरणलाई कठिन बनाएको छ । तैपनि स्टारलिंकजस्ता स्याटेलाइट कनेक्सनमार्फत केही जानकारी बाहिर आइरहेको छ । एक तेहरानवासीले सीएनएनलाई इन्टरनेट बन्दले उल्टै मानिसहरूलाई सडकमा निस्कन प्रेरित गरेको बताए । “सबै उमेरका मानिस सडकमा छन्,” उनले भने ।

प्रदर्शनकारीहरूले अहिले जारी आन्दोलन २०२२ को महसा अमिनी आन्दोलनभन्दा ठुलो र व्यापक भएको बताएका छन् । इरानको अन्तर्राष्ट्रिय सञ्चार बन्द भएकाले स्वतन्त्र रूपमा मृतक र पक्राउको सङ्ख्या पुष्टि गर्न कठिन छ ।

अर्कोतर्फ आर्थिक सङ्कट, मुद्रास्फीति, रियालको अभूतपूर्व अवमूल्यन र जीवनयापनको महँगाइविरुद्ध सुरु भएको आन्दोलन अहिले इस्लामिक गणतन्त्रको पूर्ण परिवर्तन र सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजीनामाको मागमा बदलिएको छ ।

देशका विभिन्न स्थानमा प्रदर्शनकारीहरूले “तानाशाहको मृत्यु होस्” “खामेनीको मृत्यु होस्” र “रेजा शाह, तिम्रो आत्मालाई शान्ति मिलोस्” जस्ता नारा लगाउँदै विरोध चर्केका छन् । केही ठाउँमा इरानको वर्तमान इस्लामिक झन्डालाई जलाएर प्रदर्शनकारीहरूले सिंह र सूर्य अङ्कित राजतन्त्र कालको पुरानो झन्डा पनि देखिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस