
काठमाडौं, २७ पुस। नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको पार्टीको विशेष केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदै छ । दिउँसो १ बजेदेखि उद्घाटन सत्र हुने महाधिवेशन आज र भोली पुस २८ गते सञ्चालन हुनेछ ।
उद्घाटन सत्रअघि बिहान ११ बजेदेखि सुनधारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रबाट नेता–कार्यकर्ताहरूको र्याली भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने मञ्च निर्माण गरिएको छ भने मञ्चअगाडि छ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए ।
मञ्च वरिपरि काँग्रेसको झन्डा, गेट, ब्यानर र प्रचार सामग्रीले सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँले गर्ने छन् ।
विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन । मुलुकभरबाट आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश काठमाडौँ आइसकेका आयोजक समितिले जनाएको छ । प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि कार्यक्रम स्थलको मूल ढोकासँगको प्रदर्शन कक्षबाट सुरु भएको व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले बताए ।
प्रतिनिधिहरूका लागि आयोजनास्थलमै खाना र नास्ताको व्यवस्था गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा ३ हजार ६ सय प्रतिनिधिका लागि आवासको प्रबन्ध गरिएको छ भने थप ४ सय प्रतिनिधिका लागि तत्काल व्यवस्था मिलाइएको छ ।
उद्घाटन सत्रपछि बन्द सत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभा हलमा सुरु हुनेछ । बन्द सत्रमा छलफल हुने नीतिगत दस्ताबेजहरू हालसम्म सार्वजनिक भइसकेका छैनन् ।
महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्तिमार्फत पार्टी विधानको धारा १७ (२) अनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेका छन् । उनीहरूले विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउन र बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसलाई सुदृढ तथा पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको बताएका छन् ।
गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । महामन्त्रीद्वयले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एक ढिक्का राख्न आफूहरू प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

