काँग्रेसको बन्दसत्रमा सहभागी नहुने देउवा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
काँग्रेसको बन्दसत्रमा सहभागी नहुने देउवा

काठमाडौं, २८ पुस। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने भएका छन् । सामाजिक सञ्जालमा देउवा आज भृकुटीमण्डप जाने भनी फैलाइएको सूचनालाई उनको सचिवालयले औपचारिक रूपमा खण्डन गरेको हो ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सोमबार जारी गरेको प्रेस नोटमा भनिएको छ, “केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भनी गलत सूचना सम्प्रेषण गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रममा सभापतिज्यू जाने कुनै पनि कार्यतालिका नरहेको स्पष्ट पार्न चाहन्छौँ ।”

भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र सुरु हुँदै छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित महाधिवेशनको उद्घाटन सत्र आइतबार सम्पन्न भएको थियो ।

उद्घाटन सत्रमा सभापति देउवा सहभागी भएनन् । उद्घाटनमा सम्बोधन गर्ने अधिकांश नेताहरूले देउवालाई बन्दसत्रमा उपस्थित भई विशेष महाधिवेशनलाई अपनत्व ग्रहण गर्न आग्रह गरेका थिए । उनीहरूले सभापतिको उपस्थितिले पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुने तर्क गरेका थिए ।

तर संस्थापन पक्षले यस्तो प्रचारलाई निराधार र भ्रामक भनेको छ । विशेष महाधिवेशनको प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार आज बन्दसत्रमा कार्यविधि निर्माण, विधान संशोधन, नीति, नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमा छलफल हुनेछ । महामन्त्री थापाले राजनीतिक र शर्माले साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा आइतबार मात्र २६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । नाम दर्ता प्रक्रिया आज बिहान ११ बजेसम्म जारी रहने बताइएको छ । विशेष महाधिवेशन पक्षधरले बहुमतभन्दा बढी प्रतिनिधि सहभागी भएको दाबी गरेका छन् । यसले पार्टी नेतृत्व परिवर्तनको सम्भावना बढाएको उनीहरूको भनाइ छ । तर संस्थापन पक्षले विशेष महाधिवेशनको आवश्यकता नरहेको अडान कायम राखेको छ ।

पार्टीभित्रको यो विवादले काँग्रेसको आन्तरिक एकता र आगामी निर्वाचनमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस