भ्रष्टाचार मुद्दामा कल्याणपुरका पूर्वमेयर साह दोषी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • ६ पटक पढिएको
भ्रष्टाचार मुद्दामा कल्याणपुरका पूर्वमेयर साह दोषी

काठमाडौँ, २८ पुस। सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौँले सोमबार उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले तेलीलाई घुस लिएको अभियोगमा भ्रष्टाचार ठहर गरेको हो । मेयर तेलीले नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिका अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले खटाएको टोलीले तेलीलाई उक्त घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।  अदालतमा तेलीले उक्त रकम छोराको व्यापारिक कारोबारको भएको दाबी गरे पनि मोबाइल संवादको स्क्रिप्ट र बरामद नोटको नम्बर भिड्दा उनी दोषी देखिएका हुन् ।

अदालतले तेलीलाई १ लाख रुपैयाँ जरिवानाका साथै अपराध पीडित संरक्षण कोषमा ४ हजार रुपैयाँ शुल्क बुझाउन समेत आदेश दिएको छ ।

यसैबिच, सोही मुद्दामा प्रतिवादी बनाइएकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने सफाइ पाएकी छिन् । उनले अदालतमा बयान फेरेको (होस्टायल भएको) भन्दै अख्तियारले मुद्दा चलाए पनि उनले जानीजानी भ्रष्टाचार गरेको पुष्टि हुने ठोस प्रमाण नभेटिएकाले अदालतले उनलाई सफाइ दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस