अहंकार त्याग्न र पार्टी बचाउन पुराना नेता–कार्यकर्ताले कांग्रेसलाई आग्रह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २९, मंगलबार (१ महिना अघि)
  • ४ पटक पढिएको
अहंकार त्याग्न र पार्टी बचाउन पुराना नेता–कार्यकर्ताले कांग्रेसलाई आग्रह

काठमाडौं, २९ पुस। नेपाली कांग्रेस पुनः विभाजनको डिलमा पुगेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘विशेष महाधिवेशन’ र त्यसले अगाडि बढाएको नयाँ नेतृत्व चयन प्रक्रियाले पार्टीलाई औपचारिक रूपमै फुटको सँघारमा पुर्‍याएको हो ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भनिरहेका बेला आयोजक पक्ष भने नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेर अगाडि बढिसकेको छ । कांग्रेसभित्र चुलिएको यो चरम विवाद र विभाजनको खतरालाई लिएर पार्टीका पुराना नेता–तथा कार्यकर्ता भने चिन्ता प्रकट गर्दछन् ।

विराटनगरकी पुरानो एवं निष्ठावान् नेतृ मृदुला कोइरालाले पार्टी विभाजनको डिलमा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन् । कोइराला परिवारको विरासत र कांग्रेसको लामो इतिहासलाई नजिकबाट हेरेकी उनले वर्तमान नेतृत्वलाई पार्टी विभाजन रोक्न आग्रहसमेत गरेकी छन् ।

नेतृ कोइरालाले पार्टीलाई फुटबाट जोगाउन नेतृत्व वर्ग अत्यन्तै गम्भीर हुनुपर्ने बताइन् । उनले अहिलेको अवस्था आउनुमा नेतृत्वको अहंकारी प्रवृत्ति मुख्य जिम्मेवार रहेको औँल्याइन् । ‘यो पार्टीलाई कुनै पनि हालतमा फुट्न दिनु हुँदैन । नेतृत्व वर्ग जो अहिले पदमा हुनुहुन्छ, उहाँहरू गम्भीर हुने बेला आएको छ,’ उनले भनिन्, ‘तर दुःखको कुरा, अहिले नेतृत्वमा मेरो गोरुको बाह्रै टक्का भन्ने अहङ्कार देखिएको छ, जुन पार्टीका लागि घातक छ ।’

बीपी कोइरालाले ठुलो दुःख, कष्ट र संघर्ष गरेर स्थापना गरेको पार्टीलाई अहिले यो विन्दुमा पुर्‍याउनुमा वर्तमान नेताहरूकै दोष रहेको उनको ठहर छ । उनले नेतृत्वले आफ्नो गल्ती महसुस गर्नुपर्ने र यदि नेताहरूले इमानदार भएर माफी मागेमा जनता र कार्यकर्ताले पनि माफी दिने विश्वास व्यक्त गरिन् ।

कोइरालाले कांग्रेसको यो अवस्था देख्दा आफूलाई अत्यन्तै पीडा भएको बताउँदै विगतका त्याग र आदर्शको स्मरण गरिन् । उनले कांग्रेस त्यागले बनेको पार्टी भए पनि अहिले स्वार्थको अखडा बनेको आरोप लगाइन् । उनले गणेशमान सिंहले कहिल्यै पदको लोभ नगरेको र सधैँ त्यागको राजनीति गरेको उदाहरण दिँदै अहिलेका नेताहरूलाई त्यसबाट सिक्न आग्रह गरिन् ।

उनले कृष्णप्रसाद भट्टराईको सादगीपन सम्झँदै भनिन्, ‘किशुनजी जस्तो नेता, जो बालुवाटारबाट निस्किँदा एउटा सुराही र एउटा लौरोमात्र लिएर निस्किनुभयो, उहाँको त्यो इतिहास अहिलेका नेताहरूले बिर्सिएका छन् ।’

त्यस्तै, गिरिजाप्रसाद कोइरालाले सधैँ पार्टी एकता, सहमति र सहकार्यको कुरा गरेको र सुशील कोइरालाले जोखिम मोलेर संविधान दिएर मुलुकलाई बचाएको सन्दर्भ पनि स्मरण गर्न उनले सबैलाई आग्रह गरिन् । सुशील कोइराला बालुवाटारबाट निस्किँदा आफ्नो भन्ने एउटा घर समेत नभएको स्मरण गर्दै उनले अहिलेका नेताहरू पद र पैसाको पछि दौडिएकोमा आलोचना गरिन् ।

‘अहिलेका नेताहरू अत्यन्तै स्वार्थी भए, परिवारवादमा फसे र आफ्ना आसेपासेलाई मात्र प्रोत्साहन गर्न थाले । यही प्रवृत्तिले गर्दा पार्टीमा विद्रोह भएको हो,’ रातोपाटीसँग कोइरालाले भनिन् । पैसा लिएर टिकट बेच्ने, वर्षौंदेखि पार्टीका लागि रगत, पसिना बगाएका इमानदार कार्यकर्ताको मूल्याङ्कन नगर्ने र सधैँ पद ओगटेर बस्ने प्रवृत्तिका कारण कार्यकर्तामा चरम आक्रोश पैदा भएको उनको विश्लेषण छ । पद छोड्न नचाहने नेतृत्वको ढिपीले गर्दा नै आज कांग्रेस विभाजनको यो सँघारमा आइपुगेको उनले दाबी गरिन् ।

यो सङ्कटको समाधानका लागि कोइरालाले दुवै पक्षलाई लचिलो हुन र सहमतिको विन्दु खोज्न आग्रह गरेकी छन् । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष दुवैले आफ्नो अडान छोडेर ‘विन–विन’ सिचुएसनमा नगए कांग्रेसको भविष्य अन्धकार हुने उनको चेतावनी छ । उनले भनिन्, ‘मुलुकको सबभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नै सिद्धियो भने यो मुलुकको प्रजातन्त्रको के होला ? यो एउटा कार्यकर्ताको मात्र होइन, हरेक नागरिकले सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने विषय हो ।’

प्रजातन्त्रका लागि यत्रो लडाइँ लडेको पार्टी नै समाप्त हुने अवस्था आउनु दुःखद् भएको भन्दै उनले सबैतिरबाट नेताहरूलाई दबाब दिएर पार्टी बचाउन आह्वान गरिन् । महाधिवेशन शक्तिशाली ठाउँ भएको र यसले म्यान्डेट प्राप्त गरेको उल्लेख गर्दै उनले बेलैमा बुद्धि पुर्‍याएर सहमति नगरे स्थिति निकै गम्भीर हुने सङ्केत गरिन् । उनले कांग्रेसलाई बचाउनु नै अहिलेको प्रमुख आवश्यकता भएको र यसका लागि सबै पक्षले व्यक्तिगत र समूहगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिइन् ।

विराटनगर निवासी कांग्रेसका पुराना तथा वयोवृद्ध नेता गोपालराज भण्डारीले पनि पार्टी नेतृत्वलाई व्यक्तिगत हठ त्यागेर एकताका लागि उभिन आग्रह गरेका छन् । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै काम गरेका भण्डारीले अहिलेको नेतृत्वले विगतका नेताहरूको त्याग र बलिदानको इतिहासलाई बिर्सन नहुने बताए ।

२०११ सालमा जन्मिएका र कांग्रेसका संस्थापक नेताहरूसँगै लामो राजनीतिक यात्रा गरेका भण्डारीले पार्टी फुट्दा देशको लोकतन्त्र नै धरापमा पर्ने चेतावनी दिए । ‘अहिले विशेष अधिवेशन र नियमित अधिवेशनको बिचको लडाइँ बनाएर जसरी पार्टीलाई धरापमा पार्दैछन्, यो हुन हुँदैन । त्यसकारण दुवै (संस्थापन र इतर) पक्षले हठ छोडेर एक ठाउँमा उभिनुपर्छ । पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो,’ रातोपाटीसँग कुरा गर्दै उनले भने ।

विगतका दिनमा पार्टी सङ्कटको सँघारमा पुगेका बेलामा नेताहरूले देखाएको सुझबुझजस्तै अहिले पनि दुवै पक्ष संयमित भएर अघि बढ्नुपर्ने भण्डारीको भनाइ छ । ‘विगतमा किसुनजी, गिरिजाबाबु वा गणेशमानजीले खेलेको भूमिका जस्तै त्याग, तपस्या र बलिदानलाई स्मरण गरी त्यस्तै खालको भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने ।

विभिन्न कोणबाट नेपाली कांग्रेसलाई फुटाउने प्रयास भइराखेको चर्चा गर्दै भण्डारीले यस्ता खेलले समग्रमा लोकतन्त्र नै मास्न मद्दत गर्ने बताए । ‘जेनजी आन्दोलनपछि जुन घटना घट्यो, जसरी तोडफोड र आगजनी जुन शक्तिहरूले गरे, तिनै शक्तिहरू कांग्रेसलाई फोड्न पनि अगाडि बढेको जस्तो लाग्छ मलाई,’ उनले भने ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिकासमेत बनाइसकेको छ भने अर्को पक्षले केन्द्रीय कार्यसमिति बैठक आयोजना गरेको छ । योसँगै कांग्रेस पार्टीको भविष्यमाथि ठुलो प्रश्न चिह्न खडा भएको भन्दै पुराना नेता–कार्यकर्ताले चिन्ता प्रकट गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस