उपत्यकामा रात्री बस सेवा थपियो, अब ६ रुटमा ३० बस चल्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (२ घण्टा अघि)
  • ३० पटक पढिएको
उपत्यकामा रात्री बस सेवा थपियो, अब ६ रुटमा ३० बस चल्ने

काठमाडौं, ०४ असोज । काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर १ वैशाखदेखि सुरु परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवा विस्तार गरी अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं वाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर गर्नेमा काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका छन् । यसमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरे ।

हस्ताक्षर लगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानबाट नागरिकका लागि प्रत्याभूत आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवा थप विकास र विस्तार गर्दै लगिएको बताइन् ।

उनका अनुसार परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा बस थपिएको छ । ७ वटा गाडीलाई ३० वटा पुर्‍याइएको छ । ४ नगरपालिकाको सहकार्यमा ९ पुगेको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उपत्यकावासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालन योजना आउनुपर्नेमा नआएपछि स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालिएको बताए ।

साझाका अध्यक्ष प्याकुरेलले संविधान दिवसका दिन सर्वसाधारणले रातको समयमा सुरक्षित आवतजावत गर्ने एउटा भरपर्दो सेवा सुरु भएको बताए ।

कुन–कुन रुटमा चल्छन् साझा बस ?

विस्तारित सेवा अन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल–बूढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिने छ ।

यसअघि लगनखेलदेखि बूढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म सात वटा बसमार्फत नमुना सेवा सञ्चालन गरिएको थियो ।

रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसके त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान बहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुरले १८.५५ तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले बेहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ ।

रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।

चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिने छ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्ने छ । टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले १ असोजदेखि डिजिटल टिकेटिङ प्रणाली विकास गरेको छ । यसमा क्यूआरबाट वा नगद नै दिएर पनि टिकट लिन सकिने छ ।

साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ बराबर सेयर लगानी छ । अहिले साझासँग १ सय ११ वटा बस छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस