जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा नेपालसहितका एसियाली देश

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा नेपालसहितका एसियाली देश

काठमाडौं, ०७ असार। विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुक जलवायु परिवर्तनको सबैभन्दा प्रभावित क्षेत्र बन्दै गएको निष्कर्ष निकालेको छ ।

‘स्टेट अफ द क्लाइमेट इन एसिया २०२५’ प्रतिवेदनअनुसार हिमालय र तिब्बती क्षेत्रमा रहेका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् भने चरम वर्षा, बाढी, खडेरी र तातो हावाको लहरका घटना बढ्दै गएका छन् ।

हिमनदी, हिमताल र जलस्रोतमा निर्भर नेपालका लागि यो अवस्था अझ गम्भीर चेतावनीका रूपमा देखिएको छ, जहाँ हिमताल विस्फोट (ग्लोफ), बाढी–पहिरो र जलस्रोत व्यवस्थापनका चुनौती थपिँदै गएका छन् ।

विश्व मौसम संगठनको यसै वर्ष प्रकाशित नयाँ प्रतिवेदनका अनुसार जलवायु परिवर्तन अब भविष्यको खतरा मात्र रहेन, यो वर्तमान समयको गम्भीर संकट बनिसकेको छ । जलवायु परिवर्तनको मारमा एसियाली मुलुकहरु फ्रन्टलाइनमा परेका छन् ।

भीषण गर्मी र आगलागीका घटना

विश्व मौसम संगठनले यसै वर्षको प्रतिवेदनमा उल्लेख गरेअनुसार विगतका केही दशकहरूमा एसियाको तापमान वैश्विक औसतको तुलनामा धेरै तीव्र गतिमा बढेको छ । यही कारण सन् २०२५ एसियाको जलवायु इतिहासमै दोस्रो सबैभन्दा तातो वर्ष रहन गयो ।

डब्ल्यूएमओले अवस्था यस्तै रहे सन् २०२६ देखि २०३० को बीचमा पनि विश्वको तापमान औद्योगिक कालभन्दा पहिलेको तुलनामा १.९ डिग्री सेल्सियससम्म बढ्न सक्ने चेतावनी दिइएको छ ।

चिन्ताको विषय के छ भने, सन् १९९१ देखि २०२५ को बीचमा एसियामा तापमान वृद्धिको दर सन् १९६१–१९९० को तुलनामा झन्डै दोब्बर रहेको छ ।

सन् २०२५ मा भीषण गर्मी एसियाको सबैभन्दा ठूलो जलवायु चुनौतीका रूपमा देखापरेको थियो । यस अवधिमा जापान, चीन र दक्षिण कोरियाले इतिहासकै सबैभन्दा तातो गर्मीको सामना गरेका थिए ।

मध्य, पश्चिम एसिया र अरब प्रायद्वीपका धेरै भागहरूमा लामो समयसम्म लुको कहर देखिएको थियो । कजाकिस्तानमा मार्चदेखि जुलाईसम्मको तापमान सामान्यभन्दा १४ डिग्री सेल्सियससम्म बढी दर्ता गरिएको थियो भने बहराइनमा लगातार १० दिनसम्म तापमान ४० डिग्री सेल्सियसभन्दा माथि रहेको थियो । यही गर्म र सुक्खा मौसमका कारण दक्षिण कोरियामा इतिहासकै सबैभन्दा ठूलो डढेलोसमेत लागेको थियो ।

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०८२ मा ७ हजार ५४७ विपदका घटना भएका रेकर्ड गरिएको छ । ती विपदका कारण १३ हजार ५०० चार परिवार प्रत्यक्ष प्रभावित भएका थिए । ४९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका थिए भने १ हजार ९६५ जना घाइते भएका थिए ।

आगलागीका मात्रै ३ हजार ६५२ वटा घटनामा परी १०४ जनाले ज्यान गुमाएका थिए भने ५६३ जना घाइते भएका थिए ।

कहीँ बाढी, कहीँ खडेरी : नेपाल र दक्षिण एसियाको अवस्था

प्रतिवेदनका अनुसार दक्षिण एसियाका अधिकांश हिस्साहरूमा गत वर्ष सामान्यभन्दा धेरै बढी वर्षा भयो । मे महिनाको अन्त्यदेखि सुरु भएको मनसुनको भारी वर्षाले धेरै देशहरूमा बितण्डा मच्चायो ।

मनसुन अवधिमा नेपाल र उत्तरी भारतमा कैयौँ पटक गम्भीर प्रकृतिको आकस्मिक बाढी आएको थियो । पाकिस्तानमा पनि मनसुन जन्य बाढीका कारण १ हजार ३७ भन्दा बढी मानिसको मृत्यु भएको, २ लाख २९ हजारभन्दा बढी घरहरू भत्किएको र त्यहाँ ३० लाखभन्दा बढी मानिस सहायताको पर्खाइमा बस्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

भियतनाममा पनि बाढीले २०० जनाको ज्यान लिएको थियो भने १९० करोड डलरको आर्थिक क्षति पुर्‍याएको विश्व मौसम संगठनको तथ्यांक छ । दक्षिण–पूर्वी एसियामा चक्रवात ‘सेन्यार’ का कारण थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा बाढी आएको थियो भने इरानसहित पश्चिम र मध्य एसियाका क्षेत्रहरू लामो खडेरी र जल संकटसँग जुधिरहेका थिए ।

चीन–नेपाल सीमा क्षेत्रमा हिमताल विस्फोटन

प्रतिवेदनले एसियाका उच्च हिमाली क्षेत्रहरुबाट सबैभन्दा चिन्ताजनक संकेतहरू देखाएको छ । नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को ‘स्नो अपडेट २०२६’ प्रतिवेदन अनुसार यस वर्ष हिउँको तह दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको छ । यो दुई दशकयताकै कम र लगातार चौथो वर्ष हिउँको मात्रा सामान्यभन्दा कम रेकर्ड गरिएको हो ।

विश्व मौसम संगठनको प्रतिवेदनमा तिब्बती पठार र आसपासका क्षेत्रमा रहेका ग्लेशियरहरू तीव्र गतिमा खुम्चिँदै गएको उल्लेख छ । अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ को बीचमा निगरानी गरिएका सबै २३ वटा ग्लेशियरहरूले हिउँ गुमाएका छन् । यसले गर्दा हिमताल विस्फोटनको जोखिम उच्च बनेको छ ।

यसैको परिणाम स्वरूप ८ जुलाई २०२५ (२०८२ साल असार २४ गते) चीनको ग्याइरोङ काउन्टीस्थित पुरेपु हिमनदीको ताल फुट्दा लेदोसहितको आकस्मिक बाढी आएको थियो ।

यस बाढीले चीन–नेपाल सीमा क्षेत्र रसुवागढी क्षतविक्षत बनाएको थियो । तिब्बततर्फबाट आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशी नदीमा मिसिँदा कम्तिमा २० जनाको मृत्यु भएको थियो ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, सडक, टिमुरे भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर, जाँचपासका लागि राखिएका विद्युतीय गाडी, ईभी चार्जिङ स्टेसन र जलविद्युत् आयोजनाहरुमा क्षति पुर्‍याएको थियो ।

सोही दिन मुस्ताङमा पनि विनाशकारी बाढी आएको थियो । यसलाई विज्ञहरुले जोखिम सूचीमा नराखिएका साना हिमताल (सुप्राग्लेसियल ताल) फुटेर आएको अभूतपूर्व घटना र जलवायु परिवर्तनको गम्भीर असर भनेका छन् ।

हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका आठ देशमध्ये चार देशले सन् २०२५ मा १० भन्दा बढी ठूला विपद् व्यहोरेको इसिमोडको विश्लेषणले देखाएको छ । यसले हिन्दुकुश हिमालय क्षेत्र झन् बढी संवेदनशील बन्दै गएको संकेत गरेको छ ।

विश्व मौसम संगठनका अनुसार यो विस्फोटन हिमाल क्षेत्रमा देखिएको अस्वाभाविक उच्च तापक्रम, तीव्र स्थानीय वर्षा र हालैका शक्तिशाली भूकम्पीय गतिविधिहरूका कारण भएको थियो ।

विश्वप्रसिद्ध विज्ञान जर्नल साइन्समा हालै प्रकाशित एक अनुसन्धान रिपोर्टमा पनि जलवायु परिवर्तनका कारण विगत चार दशकमा हिमालबाट उत्पन्न हुने नदीहरू अस्थिर बन्दै गएको उल्लेख छ । रिपोर्टमा नेपालको कोशी नदीको समेत उदाहरण दिँदै नदीहरुले आफ्नो किनार काट्ने तथा मार्ग परिवर्तन गर्ने (ल्याटेरल माइग्रेसन) दर झण्डै दोब्बर भएको उल्लेख छ ।

महासागरहरू पनि संकटमा

एसिया वरपरका महासागरहरूमा जम्मा हुने तापक्रम सन् २०२५ मा रेकर्ड स्तरमा पुगेको थियो । जुलाईदेखि सेप्टेम्बरको बीचमा समुद्री लुले एसियाको झन्डै १ करोड वर्ग किलोमिटर समुद्री क्षेत्रलाई चपेटामा परेको थियो ।

भारतीय तटहरूमा समुद्रको जलस्तर बढ्ने दर वैश्विक औसत (३.६ मिमी प्रतिवर्ष) भन्दा बढी अर्थात् ४.९ मिमी प्रतिवर्ष दर्ता गरिएको थियो ।

यसका साथै अरब सागर र बङ्गालको खाडीमा बढ्दो अम्लीकरणका कारण पीएच स्तर रेकर्ड तल्लो बिन्दुमा पुगेको थियो ।

चेतावनी प्रणालीको महत्वलाई जोड

प्रतिवेदनले मौसमी पूर्वानुमान र समयमै जारी गरिने चेतावनी प्रणालीको महत्वलाई जोड दिएको छ । उदाहरणको रुपमा चीनको सिचुआन प्रान्तलाई लिइएको छ । त्यहाँ समयमै मानिसहरूलाई सुरक्षित स्थानमा सारेका कारण धेरैको ज्यान बचेको उल्लेख छ । तर पूर्व चेतावनी प्रणाली कमजोर रहेको ठाउँमा ठूलो क्षति भएको थियो ।

पूर्व चेतावनी प्रणाली नहुँदा धेरै क्षति पुगेको उदाहरणको श्रीलंकालाई लिइएको छ । दित्वाह चक्रवातको प्रभावले श्रीलंकामा भिषण वर्षापछिको विपत्तिमा ६४६ जना भन्दा बढीको मृत्यु भएको थियो भने १८३ जना बेपत्ता भएका थिए ।

यस विपत्तीबाट श्रीलंकाले आफ्नो कुल गार्हस्थ्य उत्पादनको करिब ४ प्रतिशत अर्थात् ४.१ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको थियो ।

विश्व मौसम संगठनकी महासचिव प्रोफेसर सेलेस्टे साउलोका अनुसार, बढ्दो तापमान, तातिँदै गरेका महासागर, पग्लिँदै गरेका ग्लेशियर र समुद्रको बढ्दो स्तर एसियाका लागि गम्भीर खतरा बनिसकेका छन् ।

सन् २०२५ को यो प्रतिवेदन केवल बितेको वर्षको मौसमी हिसाबकिताब मात्र होइन, बरु भविष्यको स्पष्ट चेतावनी भएको उनको भनाइ छ । नेपालसहित समग्र एसियाली मुलुक आज जलवायु परिवर्तनको सबैभन्दा ठूलो मारमा परेका छन् । त्यसैले यसबाट बच्नका लागि अनुकूलन र पूर्वसूचना प्रणालीमा लगानी बढाउन जोड दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस