होटेलहरू तङ्ग्रिँदै, क्षतिको ‘ल्याण्डमार्क’ हिल्टन अझै उठ्न सकेन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (५ घण्टा अघि)
  • ४० पटक पढिएको
होटेलहरू तङ्ग्रिँदै, क्षतिको ‘ल्याण्डमार्क’ हिल्टन अझै उठ्न सकेन

काठमाडौं, २४ भदौ। २३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनका कारण देशभरी दुई दर्जन होटलमा आगजनी तथा क्षति पुगेको थियो । होटल संघ नेपाल (हान)का अनुसार यी होटेलमा २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।

आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा समग्र होटल उद्योग तङ्ग्रिने क्रममा छ । भौतिक क्षति पुनर्निर्माणको चरणमा छ । कतिपय होटेल पुनः सञ्चालनमा समेत आइसकेका छन् । कतिपय पुनर्निर्माणको अन्तिम चरणमा रहेको हानका कोषाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।

‘धेरै होटेल पुनर्निर्माण भइसकेको, भइरहेको वा अन्तिम चरणमा रहेको अवस्था छ,’ उनले भने । जेनजी आन्दोलनलगत्तै तत्कालिन अन्तरिम सरकारले व्यवसायीको मनोबल उकास्न निरन्तर प्रयास गर्‍यो ।

शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भयो । यसले पनि व्यवसायीमा आशाको सञ्चार गराएको कोषाध्यक्ष श्रेष्ठले बताए । पर्यटन उद्योगमा निरन्तर चूनौति थपिएका छन् । त्यसका बावजुद व्यवसायीले उज्ज्वल भविश्यको आशामा निरन्तर लगानी थपिरहेका छन् ।

आन्दोलनकारीको तारोमा परेका होटल मध्येको एक हो, हिल्टन । हिल्टन होटेल पनि पुनर्निर्माणको क्रममा छ । पूर्ण रुपमा जलेको होटेलको संरचना पुनर्निर्माणको काम करिब सकिएको र थप काम भइरहेको हाटेल स्रोतले जानकारी दियो ।

‘सिभिल निर्माणको काम सकिएको छ, भूकम्प प्रतिरोधी ड्याम्परहरु पूर्ण रुपमा फेर्नुपर्नेछ, जसको अर्डर पनि भइसकेको छ । साथै बाहिरी भागका सिसाहरु पनि अर्डर भइसकेको छ,’ स्रोतले भन्यो ।

तर, बीमाको दाबी भुक्तानी हालसम्म पनि नपाएकाले पुनर्निर्माणको काम प्रभावित भएको पनि स्रोतको दाबी छ । ‘अबको एक–डेढ वर्षमा होटेलको पुननिर्माणको काम सकिनेछ, यसका अतिरिक्त यसको विस्तारको काम पनि सँगसँगै भइरहेको छ,’ स्रोतले बतायो ।

तत्कालिन सरकारले आगजनी र तोडफोडमा परेका व्यापार व्यवसाय पुनः सक्रिय गराउन कर्जाको पुनर्संरचना, सस्तो ब्याजदरमा कर्जा र बीमा दाबीको ५० प्रतिशत अग्रिम भुक्तानी दिने गरी योजना ल्याएको थियो । कर तिर्ने समय थप गरिएको थियो । आगजनी र तोडफोडका कारण क्षति भएका वस्तु पुनः आयात गर्दा भन्सार छूटको योजना समेत ल्याइएको थियो ।

अर्कोतर्फ व्यवसायीको मनोवल उकास्न अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनालले प्रतिष्ठानहरूको भ्रमण गर्ने, व्यवसायीसँग भेटघाट गर्ने, क्षतिको शीघ्र मूल्यांकनमा सहयोग गर्दै हौसला प्रदान गर्ने गरेका थिए ।

हानका अध्यक्ष विनायक शाहका अनुसार त्यसले तत्कालै हौसला दिने काम गरे पनि दीर्घकालिन रुपमा व्यवसाय पुनर्स्थापित गर्ने सन्दर्भमा भने अझै धेरै चुनौती छन् ।

कस्तो थियो होटेल उद्योगमा जेन जी आन्दोलनको असर ?

हानको तथ्यांकअनुसार काठमाडौं उपत्यकासहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ– विराटनगर, धनगढी, महोत्तरी, दाङ–तुल्सीपुर लगायत क्षेत्रका होटलमा बढी आक्रमण भएको थियो । होटल प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । व्यापारिक घराना शंकर ग्रुपको लगानी रहेको हिल्टन काठमाडौंमा भने आगो लगाइएको थियो । आन्दोलनका कारण क्षतिग्रस्त होटेलमा प्रत्यक्ष रुपमा २ हजार भन्दा बढीको रोजगारी संकटमा परेको थियो ।

आन्दोलनका कारण काठमाडौंमा बढी क्षति भएको पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी) पनि हो । यो होटेल नेपालमा धेरै आयकर तिर्ने र विदेशी मुद्रा संकलन गर्ने पर्यटन उद्योगका रुपमा पटक पटक सम्मानित भइसकेको होटल हो ।

काठमाडौंमा व्यवसायी तथा नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्र बजगाईंको लगानी रहेको पाँचतारे होटेल वर्णवास म्यूजियम होटेलमा समेत ताडेफोड र आगजनी भएको थियो । आन्दोलनले तत्कालिन समयमा होटेलहरू कोठा खाली राख्नु पर्ने अवस्थामा पुगेका थिए ।

सामान्यतया सेप्टेम्बर होटल व्यवसायीका लागि ‘पिक सिजन’ सुरु हुने महिना हो । गत वर्ष ८ सेप्टेम्बरमा आन्दोलन आह्वान भयो, जसले गर्दा गत वर्ष होटेलका ८० प्रतिशत कोठा खाली थिए ।

अध्यक्ष शाहका अनुसार यो आन्दोलनले गरेको सबैभन्दा ठूलो प्रहार आत्मविश्वासमाथि हो ।

आगजनी भएका होटेलको पुनर्निर्माण कहाँ पुग्यो ?

वर्णवास होटेल निकट भविश्यमै सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । सो होटेलमा आगजनीबाट ३० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको विवरण कम्पनीको छ ।

हायात रिजेन्सी होटेल समेत अहिले धमाधम पुनर्निर्माण भइरहेको छ । यो होटल यस वर्ष डिसेम्बर भित्र पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य सञ्चालकहरूको छ । आन्दोलनका कारण क्षति पुगेको काठमाडौंको क्राउन प्लाजा भने पुनर्निर्माण सम्पन्न गरी पुनः सञ्चालनमा आएको छ ।

उता, नेपालको पर्यटकीय राजधानी पोखरामा समेत आन्दोलनका दौरान बढी क्षति भएको थियो । हानका अनुसार पोखराको होटल एडम सञ्चालनमा आएको छ । पोखराकै बरपिपल होटेल समेत सञ्चालनमा आइसकेको हानको तथ्यांक छ । पोखराकै होटेल ल्याण्डमार्क समेत सञ्चालनमा आएको तथ्यांक हानको छ । पोखराको बगैचा रिसोर्ट सञ्चालनमा आएको हानका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखराको होटेल सरोबरको पुनर्निर्माण भने अझै जारी छ ।

बुटवलमा क्षति पुगेको ड्रिम इन्टरनेशनल र ड्रिमल्याण्ड गोल्ड रिसोर्ट सञ्चालनमा आइसकेका छन् । उता, पूर्वी नेपालका दुई ठूला होटेल झापाको होटेल किङ्सवेरी र मेची क्राउन समेत अहिले सञ्चालनमा आइसकेको हानको तथ्यांक छ ।

केबुलकारमा गहिरो प्रहार, बैलेमा उठ्यो व्यवसाय

आन्दोलनकारीले देशका विभिन्न स्थानमा केबुलकारहरूमाथि समेत क्षति र आगजनी गरेका थिए । ती संरचना समेत व्यवसायीले बेलैमा सञ्चालनमा ल्याए ।

नवलपरासीको मौलाकालिका केबुलकार गत मंसिरमा सञ्चालनमा आएको हो । सो केबुलकारको तल्लो स्टेशनमा आन्दोलनकारीले तोडफोड गरेका थिए । कम्पनीले अष्ट्रियाबाट प्राविधिक टोली मगाएर मर्मतपछि पुनः सञ्चालनमा ल्याएको थियो । यता, चन्द्रागिरी केबुलकारमा गरिएको आन्दोलनले केबुलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।

आन्दोलनका कारण क्षति पुगेको चन्द्रागिरि केबुलकार दुई महिना बन्द गर्नु परेको थियो । २४ भदौका दिन यो केबुलकारको बटम स्टेशनमा पूर्ण रुपमा क्षति पुगेको थियो । यो केबुलकारले समेत अष्ट्रियाको डोपलमायरबाट प्राविधिक बोलाएर आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षण पूरा सेवा पुनः सञ्चालनमा ल्याइएको थियो । चन्द्रागिरि केबुलकारमा दैनिक २ हजार भन्दा धेरै पर्यटक पुग्ने गरेको कम्पनीको तथ्यांक छ ।

नयाँ सरकारले पनि दिलाउन सकेन आत्मविश्वास, अन्यौलमै छन् व्यवसायी

होटेल उद्योग मात्र होइन, समग्र पर्यटन क्षेत्र वर्तमान सरकारप्रति सन्तुष्ट छैन । जेन जी आन्दोलनको बलमा भएको निर्वाचनबाट गठन भएको शक्तिशाली सरकारले आफ्नो कामको सुरुवात लगानीकर्तालाई धरपकड गर्ने नीतिबाट थाल्यो । तर, आफ्नो निकम्मा निकायहरुको सुधारमा ध्यान दिन सकेन । नेपाल वायुसेवा निगम धरासायी हुने अवस्थामा छ । सो निकायको नेतृत्व गर्ने सक्षम व्यक्ति सरकारले अहिलेसम्म भेटाउन सकेको छैन । नेपाल पर्यटन बोर्डलाई समेत नेतृत्वविहिन राखिएको छ ।

नीति तथा कार्यक्रममा आकर्षक नारा समेटिए पनि त्यस अनुसारका कार्यक्रम बजेटमा आएनन् । व्यवसायीहरुका अनुसार ५ वर्षसम्म टिक्न सक्ने वर्तमान सरकारसमक्ष अबको ५ वर्षमा पर्यटन क्षेत्र कहाँ पुग्ने भन्ने भिजन र गुरुयोजना भने छैन । हानका अध्यक्ष शाह भन्छन्, ‘सरकारले प्रयास गरिरहेको त देखिन्छ, तर भिजन स्पष्ट छैन ।’

अहिले नेपालका होटलहरूसँग वार्षिक ४० लाख भन्दा बढी पर्यटक थेग्ने क्षमता छ । तर, जम्मा १२ लाख हाराहारी मात्र पर्यटक आउँछन् । यो पनि निजी क्षेत्रको अत्यधिक प्रयासबाट मात्र आएको संख्या हो ।

‘हिजोका सरकार र आजको सरकारमा ठूलो अन्तर छ, यो सरकारले चाहेमा जुनसुकै समस्या समाधान गरेर मुलुकलाई अगाडी लैजान सक्छ, त्यसकारण अब पर्यटनमा स्पष्ट भिजनसहित काममा होमिनुको विकल्प छैन,’ शाह भन्छन् ।

अर्कोतर्फ, नेपाल प्राकृतिक विपद्को सधै जोखिममा छ । यस्तो अवस्थामा एक स्थानमा गएको विपद्का कारण देशभरीका व्यवसायी प्रभावित हुनु दुखद पक्ष भन्दै यसलाई चिर्न राज्यले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।

राज्यका निकायहरूबीच समन्वय नहुने रोग अझै रहेकोमा समेत व्यवसायी चिन्तित छन् । पर्यटन मन्त्रालयले मुलुकमा पर्यटकलाई आह्वान गरिरहेको छ । तर, उद्योग मन्त्रालयले खाना पकाउने ग्यास दिन असमर्थ छ । होटेललाई ग्यास आफैले ढुवानी गर भनिएको अवस्था छ ।

दुई मन्त्रालयका दुई प्राथमिकता हुँदा राज्यले कुन उद्योग र व्यवसायलाई प्राथमिकता दिन खोजेको हो भन्ने अन्यौल विगतमा जस्तै अहिले पनि देखिन्छ । यो प्रवृत्तिप्रति व्यवसायी चिन्तित छन् ।

यस्तो छ जेन जी आन्दोलनमा तोडफोड भएका केही होटेल प्रतिष्ठानको ताजा अवस्था

हिल्टन होटेल : निर्माणाधीन

हायात रिजेन्सी : निर्माणाधीन

वर्णवास म्यूजियम होटेल : निर्माणाधीन

होटेल क्राउन प्लाजा काठमाडौं : सञ्चालन

होटेल एडम पोखरा : सञ्चालन

होटेल बरपिपल पोखरा : सञ्चालन

होटेल किङ्बेरी झापा : सञ्चालन

मेची क्राउन झापा : सञ्चालन

होटेल ल्याण्डमार्क : सञ्चालन

होटेल सरोबार पोखरा : बन्द

बगैंचा रिसोर्ट, पोखरा : सञ्चालन

ड्रिम इन्टरनेशनल बुटवल : सञ्चालन

ड्रिमल्याण्ड गोल्ड रिसोर्ट : सञ्चालन

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस