
काठमाडौं,१० मंसिर। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र विभिन्न माग सम्बोधनका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
सरकारले पहिलो चरणको आन्दोलनलाई बेवास्ता गरेको भन्दै महासंघले थप दबाब दिन र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आफ्ना मागमा सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
महासंघले मंसिर १३ गतेदेखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ । धर्ना बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ ।
घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा धर्ना दिइनेछ । त्यसका लागि ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारा तय गरिएको छ ।
त्यस्तै, मंसिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ ।
यी दलका कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : विपक्षी दल किन मौन ?’ भन्ने नारासहित धर्ना दिइनेछ ।
त्यसैगरी, मंसिर २० गते कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको, सञ्चारमाध्यममा अवरोध गर्नेलाई कारबाही नगरिएको तथा सरकारी र निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।
त्यस्तै, पत्रकारको श्रम अधिकार उल्लंघन, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको र सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको महासंघको आरोप छ ।
महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित रूपमा ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता जनाए उक्त दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ । यसबीचमा पनि माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।
