रौतहटमा लैङ्गिक हिंसा प्रभावितका लागि सेवा पहुँच सहज बनाउन रेफरल मार्ग तयार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २१, बुधबार (१५ घण्टा अघि)
  • ५२ पटक पढिएको
रौतहटमा लैङ्गिक हिंसा प्रभावितका लागि सेवा पहुँच सहज बनाउन रेफरल मार्ग तयार

रौतहट , १९ असोज  । लैङ्गिक हिंसा (GBV) बाट प्रभावित तथा पीडितलाई आवश्यक स्वास्थ्य, मनोसामाजिक, कानुनी र सुरक्षा सेवामा समयमै पहुँच पुर्‍याउने उद्देश्यले रौतहटमा रेफरल मार्ग (Referral Pathway) तयार तथा अद्यावधिक गरिएको छ ।

परिवर्तन–CHANGE परियोजनाको आयोजनामा चन्द्रपुर र गुजरा नगरपालिकामा सञ्चालन गरिएको दुईदिने कार्यशालामार्फत स्थानीय स्तरमा उपलब्ध सेवा तथा स्रोतको पहिचान गर्दै लैङ्गिक हिंसा प्रभावितलाई आवश्यक सेवा प्रदायकसम्म सुरक्षित र प्रभावकारी रूपमा पुर्‍याउने प्रणालीलाई अन्तिम रूप दिइएको हो।

कार्यशालामा चन्द्रपुर र गुजरा नगरपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, सम्बन्धित शाखाका कर्मचारी, नेपाल प्रहरी तथा प्रशासनका प्रतिनिधि, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) क्षेत्रमा कार्यरत संघसंस्था, मानव अधिकारकर्मी तथा परियोजना कर्मचारीको सहभागिता रहेको थियो। कार्यशालामा लैङ्गिक हिंसाका घटनामा पीडित तथा प्रभावित व्यक्तिको तत्काल आवश्यकता पहिचान गर्ने, जोखिम मूल्याङ्कन गर्ने, केस व्यवस्थापन गर्ने तथा उपयुक्त सेवा प्रदायकसम्म रेफर गर्ने प्रक्रियाबारे छलफल गरिएको थियो।

त्यस्तै, पीडितको गोपनीयता कायम गर्ने, संवेदनशील सूचना सुरक्षित रूपमा आदानप्रदान गर्ने, सेवा प्रदायकबीच समन्वय गर्ने तथा रेफरलपछि फलोअप गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको ADRA Nepal का Safeguarding Officer करुणा बरालले बताउनुभयो।

चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसीले लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिले आवश्यक सेवा कहाँबाट र कसरी प्राप्त गर्ने भन्ने कुरा स्पष्ट हुनु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तह, प्रहरी, स्वास्थ्य संस्था, कानुनी सहायता तथा सामाजिक संस्थाबीच समन्वय बलियो भएमा पीडितलाई समयमै सहयोग पुर्‍याउन सहज हुने धारणा राख्नुभयो।

चन्द्रपुर नगरपालिकाको महिला, बालबालिका तथा रोजगार शाखा प्रमुख चन्द्रकला बरालले लैङ्गिक हिंसाका पीडितसँग सेवा प्रदान गर्दा गोपनीयता, सुरक्षा र संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार रेफरल मार्गले पीडितलाई आवश्यक सेवासम्म पुग्ने प्रक्रियालाई व्यवस्थित र सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

त्यस्तै, ग्रामीण विकास केन्द्रका कार्यसमिति सदस्य नर्मदा लामाले स्थानीय स्तरमा उपलब्ध सेवा र स्रोतको सही पहिचान तथा त्यसको जानकारी सरोकारवालासम्म पुर्‍याउनु आवश्यक रहेको बताउनुभयो। उहाँले रेफरल मार्ग तयार भएपछि त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आवश्यकता अनुसार नियमित अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो।

ADRA Nepal का सिनियर प्रोजेक्ट म्यानेजर पूर्णलाल श्रेष्ठले लैङ्गिक हिंसा प्रभावितलाई समयमै उचित सेवा उपलब्ध गराउन विभिन्न सेवा प्रदायकबीच समन्वय आवश्यक रहेको बताउनुभयो। स्थानीय तहमा उपलब्ध स्रोत र सेवाको नक्साङ्कनसहित तयार गरिएको रेफरल मार्गले पीडित तथा प्रभावितको सेवा पहुँचलाई थप सहज र प्रभावकारी बनाउने उहाँको विश्वास छ।

कार्यशालामा सहभागीहरूले चन्द्रपुर र गुजरा नगरपालिकाभित्र उपलब्ध स्वास्थ्य संस्था, मनोसामाजिक परामर्श, कानुनी सहायता, सुरक्षा निकाय तथा अन्य सहयोगी संस्थाहरूको पहिचान गरेका थिए। साथै, कुन अवस्थामा पीडितलाई कुन सेवा प्रदायकसम्म पुर्‍याउने र त्यस प्रक्रियामा स्थानीय तह, प्रहरी, स्वास्थ्य संस्था तथा सामाजिक संस्थाको भूमिका के हुने भन्ने विषयमा समेत स्पष्टता कायम गरिएको थियो।

कार्यक्रमको सहजीकरण नम्रता लामाले गर्नुभएको थियो। कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दुत्तबहादुर थिङ, वडा नम्बर ३ का वडाध्यक्ष बोधनाथ देवकोटा, वडा नम्बर ४ का वडाध्यक्ष रवि राना मगर, वडा नम्बर ५ का वडाध्यक्ष निलहरी कोइराला, वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी र वडा नम्बर ७ का वडाध्यक्ष विष्णु उप्रेतीलगायतको सहभागिता रहेको थियो।त्यसैगरी चन्द्रपुर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बराल, रोजगार संयोजक शान्ता तिमल्सिनालगायत विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी थिए। कार्यक्रमको समापन ग्रामीण विकास केन्द्रका कार्यसमिति सदस्य नर्मदा लामाले गर्नुभएको थियो।

परिवर्तन–CHANGE परियोजना अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभाग (DFAT)/Australian Aid तथा ADRA Australia को आर्थिक सहयोगमा सञ्चालित छ। ADRA Nepal को नेतृत्वमा ग्रामीण विकास केन्द्र (RDC) नेपालसँगको साझेदारीमा रौतहटको चन्द्रपुर र गुजरा नगरपालिकामा जुलाई २०२५ देखि परियोजना कार्यान्वयन हुँदै आएको परियोजनाका कार्यक्रम संयोजक प्रशान्त रिजालले जानकारी दिनुभयो।

नयाँ रेफरल मार्ग कार्यान्वयनमा आएपछि लैङ्गिक हिंसाबाट प्रभावित तथा पीडित व्यक्तिले आवश्यक सेवा खोज्दै विभिन्न निकाय धाउनुपर्ने अवस्था कम हुने र स्थानीय तह तथा सेवा प्रदायकबीचको समन्वयमार्फत छिटो, सुरक्षित र आवश्यकताअनुसार सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस