आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । प्रेस स्वतन्त्र हुनुपर्दछ भन्नुको अर्थ हो प्रेसमाथि कसेको हस्तक्षेप हुनुहुँदैन । प्रेस स्वतन्त्र हुनुको यो पनि अर्थ हो कि प्रेस कसैको नियन्त्रणमा रहनु हुँदैन । कसैको हस्तक्षेप वा नियन्त्रणमा यदि प्रेस छ भने प्रेस स्वतन्त्र हुन सक्दैन । यी दुवै अवस्थामा प्रेसको मर्मअनुसार काम भइरहेको हुँदैन । कतिपयले भन्ने गरेका छन् कि प्रेस भन्नु सदैव प्रतिपक्ष हुन्छ । सदैव खबरदारी गर्दछ । सदैव बोल्न नसक्नेको वाणी बन्दछ र जहाँ समस्या हुन्छ त्यहाँ प्रेस हुन्छ । प्रेसले समस्या समाधान गर्दैन तर समस्यालाई सार्वजनिक गरेर समाधान गर्नेको ध्यानाकृष्ट भने अवश्य गर्दछ । हरेक अवस्थामा पीडितको पीडालाई सार्वजनिक गर्नु प्रेसको धर्म मानिन थालिएको छ । प्रेस स्वतन्त्र हुन सकेन भने यी र यस्ता अनेक धर्मलाई निर्वाह गर्न मुस्किल हुन्छ । प्रेसको ठूलो सम्मान यसै अर्थमा रहेको छ । विश्वले यस वर्ष पीडादायी प्रेस स्वतन्त्रता दिवस मनाइरहेको छ । पीडादायी यस अर्थमा कि कोरोनाको कारणले हजारौँ पत्रकारको दुःखद मृत्यु भइसकेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा एक अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको रिपोर्टमा कोरानो महामारीका कारण विश्वको ७५ देशका एक हजार दुई सय जना पत्रकारको मृत्यु भएको जनाइएको छ । हाम्रो अनन्य छिमेकी देश भारतमा गत दुई हप्ता पचास जनाभन्दा बढी पत्रकारको कोरोनाको कारण मृत्यु भइसकेको समाचार माध्यमहरुमा खबर आएको छ । अहिले कोरोनाको कहर जति धेरै विकराल बन्दैछ, यसको प्रत्यक्ष असर प्रेसमाथि पनि परिरहेको छ । प्रेसकर्मीहरु प्रभावित हुने, प्रेस जगत प्रभावित हुने क्रम चलिरहेको छ । यसै कठिन घडीमा प्रेस स्वतन्त्रता मनाइरहेका विश्वका सम्पूर्ण प्रेसकर्मीहरुलाई सुरक्षित रहेर प्रेसकर्म गर्न सुझाव पनि आइरहेको छ । सबै प्रेसकर्मीहरु सुरक्षित भएर प्रेसकर्म गरौँ, विश्व प्रेस दिवसको सबैमा यही शुभकामना ।