
जकपुरधाम, ०६ जेठ। करिब दुई महिनाअघि धनुषाको गणेशमान चारनाथ नगरपालिकाले पालिकाभित्र सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरूको अनुगमन सुरु गर्यो ।
गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग र वडा नम्बर ८ स्थित कमलेश्वरी बालुवा प्रशोधन उद्योगमा अनुगमन गरेपछि क्रसर सञ्चालकहरूबाट कर्मचारीहरूलाई ज्यान मार्नेसम्मको धम्की आयो ।
‘अनुगमन सुरु गरेका थियौं । दुई वटामा क्रसरमा मात्र अनुगमन गरेको भन्दै उठाइदिने र ज्यान मार्नेसम्मका धम्की आए । टोलीमा रहेका सबै डराए । अनि अनुगमन नै रोकियो,’ टोलीमा रहेका एक कर्मचारीले सुनाए ।
गणेशमान चारनाथ नगरपालिकाभित्र हाल १० वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् । वडा नम्बर ६ मा कमला स्टोन क्रसर उद्योग, वडा नम्बर ७ मा कमलामाई क्रसर उद्योग, शिवा बालुवा प्रशोधन उद्योग र देवकी बालुवा प्रशोधन उद्योग रहेका छन् ।
त्यसैगरी वडा नम्बर ८ मा गौरव बालुवा क्रसिङ प्रशोधन उद्योग, लवकुश बालुवा प्रशोधन उद्योग, संकट मोचन बालुवा प्रशोधन उद्योग तथा कमलेश्वरी बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् । वडा नम्बर ९ मा समीर बालुवा प्रशोधन उद्योग र से.जा. अली बालुवा गिटी प्रशोधन (वासिङ) उद्योग सञ्चालनमा रहेको घरेलु कार्यालयको तथ्यांकमा उल्लेख छ ।
अनुगमन रोकिएको केही समयपछि गत १४ चैतमा नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्रीसम्बन्धी जिल्ला अनुगमन समितिले कमला नदी किनारमा अनुगमन गरेको थियो । त्यस क्रममा अवैध रूपमा उत्खनन गरेर राखिएका बेवारिसे नदीजन्य पदार्थको स्टक फेला परेको थियो ।
जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल तथा सुरक्षाकर्मीसहितको टोलीले उक्त स्टक गणेशमान चारनाथ नगरपालिकाले यथाशीघ्र जफत गरी लिलाम गर्ने निर्णय गरेको थियो ।
कारबाहीका लागि चैत तेस्रो सातामा नगरपालिकाकी उपप्रमुख तुल्साकुमारी पाण्डेको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रतिनिधि र प्रहरी प्रशासनसहितको टोली पुन: अनुगमनमा जाँदा स्टक नै गायब थियो । शंकाको आधारमा खोजी गर्दा स्रोत देखाउन नसकेको स्टक कमलामाई क्रसर र कमला स्टोन क्रसरमा फेला परेको थियो ।
अनुगमनमा सहभागी एक कर्मचारीका अनुसार स्रोत खुलाउन नसकिएको कच्चादेखि प्रशोधित नदीजन्य पदार्थ नापजाँच गर्दा ३ लाख ३१ हजार ६१६ घनमिटर कच्चा तथा प्रशोधित बालुवा, गिट्टी र ग्राभेल भेटियो । कमलामाई क्रसरमा १ लाख ५९ हजार ९६८ घनमिटर र कमला स्टोन क्रसरमा १ लाख ७१ हजार ६४८ घनमिटर पदार्थ फेला परेको थियो । जुन वर्तमान मूल्यअनुसार करिब ५० लाख रुपैयाँ बराबरको हो ।
कमला स्टोन क्रसर २०६२ कात्तिक १३ गते महादेव महतो सुडीको नाममा घरेलु कार्यालयमा दर्ता छ भने कमलामाई क्रसर २०६५ मंसिर २५ गते सञ्जय शर्माको नाममा दर्ता रहेको छ । कमलेश्वरी माई बालुवा प्रशोधन उद्योग २०७५ असोज ११ मा दर्ता छ । यी तीन मात्र होइन, यस नगरपालिकाभित्र रहेका सबै क्रसर र बालुवा प्रशोधन उद्योगको नवीकरण फेल छ ।
नदीजन्य पदार्थको स्टक गायब भएको र पुन: फेला परेको विषयमा नगरपालिकाले प्रतिवेदनसमेत तयार गरेको छ । तर ती दुई क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउने आँट नगरपालिकाले गर्न सकेको छैन ।
मेयर जीतनारायण यादव स्टक गायब पारिएको विषयमा आफूलाई थाहै नभएको बताउँछन् । यस विषयमा नगरपालिकाकी उपमेयर पाण्डेसँग जिज्ञासा राख्दा कुनै प्रतिक्रिया दिन चाहिनन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले आफू नयाँ आएकाले यसबारे जानकारी नभएको बताए । तर कर्मचारी स्रोतका अनुसार उक्त प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतसँग रहेको छ । जनप्रतिनिधिको क्रसर सञ्चालकसँग घनिष्ठता रहेकाले उनीहरू कारबाही नगर्ने पक्षमा छन् ।
स्थानीय सरकार र प्रहरी प्रशाससँगको साँठगाँठका कारण सबै क्रसर शक्तिशाली छन् । त्यसकारण तल्ला तहका सुरक्षाकर्मी र कर्मचारीलाई क्रसर सञ्चालकले टेर्दैनन् । जोडबल गरे ज्यान लिनेसम्मको धम्की दिँदै आक्रमणसमेत गर्छन् ।
यसको उदाहरण हो, गत मंसिर महिनामा पोर्ताहा प्रहरी चौकीका असई वीरेन्द्र यादवमाथि भएको आक्रमण । कात्तिक ३० गते राति कमला नदीमा भइरहेको अवैध उत्खनन रोक्न चार जनाको टोलीसहित पुगेका यादवमाथि आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए ।
दिलीप महतो हत्याकाण्डबारे सबै अवगत नै छन् । मिथिला नगरपालिका–५ श्रीपुरका २५ वर्षीय दिलिप महतोको २०७६ पुस २५ गते बिहान औरही नदी किनारमा रहेको चुरियामाई बालुवा प्रशोधन उद्योगमा निर्मम हत्या भयो । यो उद्योग विपिन महतोको नाममा २०७५ फागुन ४ गते घरेलु उद्योग कार्यालयमा दर्ता छ ।
घटनाको केही समय बन्द रहेको उक्त पहिला जस्तै निर्वाध चलिरहेको छ । त्यही क्रसर नजिक अन्य दुई वटा क्रसर पनि सञ्चालनमा छन् ।
मिथिला नगरपालिकाभित्र मात्र करिब १५ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेको घरेलु कार्यालयको तथ्यांकमा उल्लेख छ । वडा नम्बर २ नक्टाझिजमा शुभम् वासिङ उद्योग र क्षिरेश्वर बालुवा प्रशोधन उद्योग, वडा नम्बर ३ मा औरही बाबा बालुवा प्रशोधन उद्योग, जगदम्बा बालुवा प्रशोधन उद्योग, बनदेवी औरही बाबा बालुवा प्रशोधन उद्योग, रोहन बालुवा प्रशोधन उद्योग तथा जय शिव भोले बालुवा वासिङ उद्योग सञ्चालनमा छन् ।
त्यसैगरी, वडा नम्बर ४ मा मिथिला बालुवा प्रशोधन उद्योग, वडा नम्बर ५ मा चुरियामाई बालुवा प्रशोधन उद्योग, साविक बेंगाडावर–८ मा धनेश्वर बालुवा प्रशोधन उद्योग, क्षिरेश्वर महादेव क्रसर उद्योग र जय बजरंग बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् । वडा नम्बर ९ मा चामिनीमाई बालुवा ग्राभिल, रोडा, गिट्टी वासिङ उद्योग र सुमित क्रसर उद्योग तथा वडा नम्बर १० मा धनेश्वर क्रसर उद्योग र वडा नम्बर ११ तुल्सीमा क्रसर एन्ड ककिङ उद्योग सञ्चालनमा रहेका छन् ।
धनुषामा सञ्चालित ३२ वटै क्रसरको नवीकरण फेल
घरेलु कार्यालयका अनुसार २०६२ देखि २०७८ सम्म ३२ वटा क्रसर उद्योग दर्ता भएका छन् । माथि उल्लेखित क्रसरबाहेक क्षिरेश्वरनाथ नगरपालिका–७ मा क्षिरेश्वरनाथ बालुवा प्रशोधन उद्योग, जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगाशिवपुरमा शुभाष क्रसर उद्योग दर्ता छन् ।
त्यसैगरी, नगराइन नगरपालिकाको घोडघासमा जय माता दी स्टोन क्रसर उद्योग, नगराइनमै कुमारी माँ गिट्टी उद्योग तथा विदेह नगरपालिका–६ गिद्धामा साह गिट्टी उद्योग सञ्चालनमा रहेको घरेलु कार्यालयको तथ्यांकमा उल्लेख छ ।
दर्ता भएका अधिकांश क्रसर उद्योग पछिल्लो समय नवीकरण नभएको घरेलु कार्यालयले जनाएको छ । सरकारी निकायले नियमित अनुगमन नगर्दा उद्योगहरू मनोमानी ढंगले सञ्चालन भइरहेका छन् ।
घरेलु कार्यालय धनुषाका प्रमुख सन्तोष साहले पछिल्लो समय कुनै पनि क्रसर उद्योग नवीकरण नभएको र लामो समयदेखि अनुगमनसमेत हुन नसकेको स्वीकार गरे ।
‘अब क्रसर यहाँ दर्ता हुँदैन । वर्षौंदेखि कुनै पनि नवीकरण भएको छैन,’ उनले भने, ‘पहिले हामी अनुगमन गर्थ्यौं, पछिल्लो समय समन्वय समितिले गर्छ ।’
जिल्ला समन्वय समिति धनुषासँग जिल्लामा कति वटा क्रसर सञ्चालनमा छन् भन्ने स्पष्ट तथ्यांकसमेत छैन । नदीजन्य पदार्थसँग सम्बन्धित नियमन तथा अनुगमन समन्वय समितिले गर्ने भए पनि धनुषामा नियमित अनुगमन गरेर कारबाही गरिएको एउटा पनि उदाहरण नभएको स्थानीयको गुनासो छ ।
समन्वय समितिका सभापति राजनन्दन मण्डल क्रसरबारे स्थानीय सरकारले समेत अनुगमन गर्न सक्ने बताउँछन् ।
‘क्रसर स्थानीय सरकारले पनि अनुगमन गर्न सक्छन् । हामी अनुगमन गर्छौं, निर्देशन दिन्छौं, तर स्थानीय सरकारले कार्यान्वयन नै गर्दैन । के, कसरी भइरहेछ भन्ने कुरा सबै मिडियालाई थाहै छ,’ उनले भने ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले खोलाको अनुगमन भए पनि क्रसरको अनुगमन नभएको स्वीकार गरे । उनका अनुसार पछिल्लो समय यहाँ मात्र होइन, देशैभरिका क्रसर नवीकरण रोकिएको अवस्था छ ।
‘हामीले खोलाको अनुगमन गरेका छौं । क्रसरको भएको छैन,’ उनले भने, ‘कर छली राजस्व कार्यालयले हेर्छ । नवीकरण र मापदण्ड नपुगेको अवस्था छ ।’
गाउँका ट्याक्टर प्रयोग गरेर खोला उत्खनन
दिलीप महतोको हत्या भएपछि औरही लगायतका नदी क्षेत्रमा क्रसर माफियाको आतंक झन् बढेको छ । जथाभावी दोहनले चुरे क्षेत्र मरुभूमीकरण बन्दै छ । पर्यावरण संकटमा छ । खनिएका खाल्डाखुल्डीमा वर्षा याममा जन्मे पानीमा बालबालिकाको डुब्ने गरेका छन् । तर बीचबीचमा स्थानीयले विरोध जनाए पनि उत्खनन रोकिएको छैन ।
पछिल्लो समय क्रसर माफियाले गाउँलेहरूबीच विभाजन सिर्जना गरेर खोलाको अवैध दोहन गर्ने रणनीति अपनाएका छन् । गाउँका ट्याक्टर धनीहरूलाई रोजगारको नाममा प्रयोग गरिँदा कृषि कार्यमा प्रयोग हुने ट्याक्टर अहिले नदी उत्खननमा प्रयोग भइरहेका छन् । नदी आसपासका गाउँहरूमा ट्याक्टरको संख्या पनि बढ्दो छ ।
‘क्रसरले अब ट्याक्टरवालालाई प्रयोग गर्छन् । ट्रिपअनुसार रकम दिएपछि ट्याक्टरबालाहरू रातिराति खोला दोहन गरेर क्रसरमै पुर्याइदिन्छन्,’ एक स्थानीय भन्छन् ।
