बागमती र गण्डकी राष्ट्रिय औसतभन्दा माथि, मधेस सबैभन्दा कमजोर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ६, बुधबार (५ मिनेट अघि)
  • ८ पटक पढिएको
बागमती र गण्डकी राष्ट्रिय औसतभन्दा माथि, मधेस सबैभन्दा कमजोर

काठमाडौं, ०६ जेठ। चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुने देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांक अनुमान अनुसार चालु आव बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.४० प्रतिशत बराबर हुनेछ । गण्डकीको ५.०१ प्रतिशत हाराहारी हुनेछ । चालु आव राष्ट्रिय कुल गार्हस्थ उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

सोही आधारमा राष्ट्रिय औसतको तुलनामा बागमती र गण्डकीको आर्थिक वृद्धिदर राम्रो हुने देखिएको छ । अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेसको हुने कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए ।

मधेसको १.३१ प्रतिशतमात्र आर्थिक वृद्धि हुनेछ । यसबाहेक कोशीको ३.१३, लुम्बिनी २.८७, कर्णाली २.९४ र सुदूरपश्चिम प्रदेशको ३.२८ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान कार्यालयको छ ।

चालु आव प्रदेशगत आर्थिक वृद्धिदर (प्रतिशत)

कोशी : ३.३१

मधेस: १.३१

बागमती : ५.४०

गण्डकी : ५.०१

लुम्बिनी : २.८७

कर्णाली : २.९४

सुदूरपश्चिम : ३.३८

राष्ट्रिय औसत : ३.८५

यस वर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदर अंक गत आवको तुलनामा सुधार भएको देखिन्छ । कोशीको गत वर्षको वृद्धिदर २.७२ प्रतिशत रहेकोमा अहिले ३.१३ प्रतिशत छ ।

त्यस्तै मधेसको गत वर्ष ४.४३ प्रतिशत रहेकोमा अहिले १.३१ प्रतिशतमात्र भएको छ । बागमतीको गत वर्ष ५.२९ प्रतिशत वृद्धि भएकोमा अहिले ५.४० प्रतिशत हाराहारी वृद्धिदर देखिन्छ ।

यस वर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदर अंक गत आवको तुलनामा सुधार भएको देखिन्छ । कोशीको गत वर्षको वृद्धिदर २.७२ प्रतिशत रहेकोमा अहिले ३.१३ प्रतिशत छ ।

यसैगरी गण्डकीको गत वर्ष ४.९२ प्रतिशतको वृद्धि भएकोमा अहिले ५.०१ प्रतिशतले अर्थतन्त्र विस्तार भएको देखिन्छ । लुम्बिनीको भने गत वर्ष ४.२७ प्रतिशत रहेकोमा अहिले घटेर २.८७ प्रतिशतमात्र हुने अनुमान कार्यालयको छ ।

उता, कर्णालीको गत वर्ष ५.२५ प्रतिशतको आर्थिक वृद्धिदर अहिले घटेर २.९४ प्रतिशत कायम भएको छ । सुदूरपश्चिमको गत वर्ष ३.२१ प्रतिशतको वृद्धि रहेकोमा अहिले सामान्य बढेर ३.२८ प्रतिशत भएको अनुमान कार्यालयको छ ।

अर्थतन्त्रको आकारमा सबैभन्दा ठूलो योगदान बागमतीको

तथ्यांक अनुसार चालु आव मुलुकको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान बागमतीले गर्छ । त्यसो त विगतदेखि नै सोही प्रवृत्ति देखिन्छ ।

यस वर्ष राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन (उपभोक्ता मूल्य) मा ६६ खर्ब हुने अनुमान कार्यालयले गरेको छ । यसमध्ये बागमती प्रदेशले मात्र २४ खर्ब २३ अर्ब अर्थात् ३६.७ प्रतिशत हिस्सा ओगट्छ ।

त्यस्तै कोशीले १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनीले ९ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेसले ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकीले ५ खर्ब ९३ अर्ब (९ प्रतिशत), सुदूरपश्चिमले ४ खर्ब ६४ अर्ब (७ प्रतिशत) र कर्णाली प्रदेशको २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) हिस्सा ओगट्ने कार्यालयले जनाएको छ ।

बागमती बाहेक सबै प्रदेशमा कृषि योगदान बढी

औद्योगिक वर्गीकरण अनुसार आर्थिक क्रियाकलाप केलाउँदा  चालु आव बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा धेरै देखिएको छ । बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापारको योगदान अधिक छ । व्यापार राष्ट्रिय स्तरमा दोस्रो स्थानमा छ ।

कोशी र मधेसमा पनि यो क्षेत्रको हिस्सा दोस्रो स्थानमा छ । बागमतीमा भने घरजग्गा कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा छ । गण्डकी र कर्णालीमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोस्रो स्थानमा रहेको कार्यालयले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रशासकीय सहयोगी सेवा, मधेस, बागमती र कर्णालीमा खानी र उत्खनन क्रियाकलाप योगदान सबैभन्दा न्यून देखिएको छ ।

कार्यालयका अनुसार चालु आव मधेसको कृषि, लुम्बिनी र सुदूरपश्चिमको सार्वजनिक प्रशासन तथा रक्षाबाहेक सबै प्रदेशका अन्य आर्थिक क्रियाकलाप वृद्धिदर धनात्मक छ ।

राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत् र ग्यासको २ सय ९३ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ । प्रादेशिक रूपमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा समेत सोही क्रियाकलापको सबैभन्दा बढी वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तीय तथा बीमा सेवाको रहने अनुमान कार्यालयले गरेको छ ।

चालु आव कोशीमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ । बागमती, गण्डकी, कर्णालीमा सार्वजनिक प्रशासन तथा रक्षाको वार्षिक वृद्धिदर सबैभन्दा कम रहने भएको छ ।

लुम्बिनी र सुदूरपश्चिममा सार्वजनिक प्रशासन तथा रक्षा र मधेस प्रदेशमा कृषिको वार्षिक वृद्धिदर ऋणात्मक रहने अनुमान कार्यालयले गरेको छ ।

प्रतिव्यक्ति आय बागमतीमा २६४४ डलर, मधेसमा ९३४

प्रतिव्यक्ति आयतर्फ राष्ट्रिय औसत १ हजार ५ सय १३ अमेरिकी डलर हुने अनुमान छ । प्रदेशगत हेर्दा भने सबैभन्दा अगाडि बागमती छ ।

बागतमीको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ डलर हुने अनुमान कार्यालयको छ ।

बागतमीको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ डलर हुने अनुमान कार्यालयको छ । गण्डकी १ हजार ६ सय ५१, कोशी १ हजार ४ सय १०, लुम्बिनी १ हजार २ सय ८, सुदूरपश्चिम १ हजार १ सय ७०, कर्णाली १ हजार  १ सय ८ र मधेसको प्रतिव्यक्ति आय ९ सय ३४ डलर हुने अनुमान सार्वजनिक गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस